
झापा । दोस्रो संस्करणको एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनल प्रवेशका लागि आज विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दुधे रंगशालामा दिउँसो ३ बजे हुने खेल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल हो ।
क्वार्टरफाइनलमा दुवै टोलीले फराकिलो जित निकालेका थिए । आर्मीले भारतको कोलकातास्थित गयेसपुर वुमेन्स फुटबल एकेडेमीलाई १०–० गोलले पराजित गरेको थियो । त्यस्तै, पुलिसले बागमती युथ क्लबलाई ६–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
दुवै टोलीले क्वार्टरफाइनलमा देखाएको प्रदर्शनका कारण आजको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । जित निकाल्ने टोलीले उपाधिका लागि फाइनलमा स्थान बनाउनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

























