
सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तेस्रो दिन बिहीबार आठ खेल विधामा प्रतिस्पर्धा हुँदै छ । मंगलबारदेखि सुरु भएको प्रतियोगिताका खेल सुर्खेत, नेपालगञ्ज र बर्दियामा सञ्चालन हुनेछन् ।
सार्वजनिक खेल तालिकाअनुसार आज सुर्खेतका विभिन्न मैदान तथा कभर्ड हलमा छ खेल विधाका प्रतिस्पर्धा हुनेछन् । बाँकेको नेपालगञ्जमा पौडी र बर्दियामा टेनिसका खेल सञ्चालन हुनेछन् ।
महिला क्रिकेटतर्फ वीरेन्द्रनगर रंगशालामा पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १:३० बजे हुनेछ । कालुन्चोक मैदानमा बिहान ९ बजेदेखि पुरुष क्रिकेट सुरु हुनेछ ।
पुरुष फुटबलतर्फ वीरेन्द्रनगरस्थित मुख्य रंगशालामा पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो २:३० बजे हुनेछ । महिला बास्केटबल कर्णाली रंगशालाभित्रको कोर्टमा बिहान ९ बजे सुरु हुनेछ । नेपालगञ्जमा पनि बिहान ९ बजेदेखि पौडीका खेल सञ्चालन हुनेछन् ।
बर्दियामा आज टेनिसका प्रतिस्पर्धा हुनेछन् । सुर्खेतस्थित मुख्य कभर्ड हलमा मध्यान्ह १२ बजेदेखि बक्सिङका खेल सुरु हुनेछन् भने मिनी कभर्ड हलमा जिम्न्यास्टिकका प्रतिस्पर्धा हुनेछन् ।



















