
सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा आयोजक कर्णाली प्रदेश समूह चरणबाटै बाहिरिएको छ । बिहीबार भएको खेलमा गण्डकी प्रदेशसँग ५–० गोल अन्तरले पराजित भएपछि कर्णालीको प्रतियोगितामा अघि बढ्ने सम्भावना समाप्त भएको हो ।
तेस्रो दिनको पहिलो खेलमा जित्नैपर्ने दबाबमा मैदान उत्रिएको कर्णालीले गण्डकीविरुद्ध गोल गर्न सकेन । यसअघि मंगलबार भएको उद्घाटन खेलमा पनि कर्णाली नेपाल पुलिस क्लबसँग ३–० ले पराजित भएको थियो । लगातार दुई खेल हारेपछि कर्णाली समूह चरणबाट बाहिरिने पहिलो टोली बनेको छ ।
गण्डकीले खेलको १६औँ मिनेटमा लछु थापाको गोलबाट अग्रता लिएको थियो । त्यसपछि आशिष गुरुङले २५औँ र ३३औँ मिनेटमा लगातार दुई गोल गर्दै गण्डकीको अग्रता ३–० बनाए ।
दोस्रो हाफमा सुदीप गुरुङले ५७औँ मिनेटमा गोल थपे । खेलको अतिरिक्त समयमा टेकराज गुरुङले अर्को गोल गरेपछि गण्डकीले ५–० को जित निकालेको हो ।
बिहीबार दिउँसो २ः३० बजे हुने खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

























