
झापा । घरेलु टोली झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब झापाको दुधेमा जारी दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। जितसँगै एपीएफले कम्तीमा ५ लाख ५० हजार रुपैयाँ पुरस्कार सुनिश्चित गरेको छ।
दुधेस्थित खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा एपीएफको जितमा रश्मिकुमारी घिसिङले दुवै गोल गरिन् । उनले खेलको २६ औँ मिनेटमा फ्रि–किकमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। झापाकी सेमिहाङमा लिम्बूले रश्मिलाई डि–एरिया नजिकै फाउल गरेपछि प्राप्त फ्रि–किकलाई उनले सिधै गोलमा परिणत गरेकी थिइन्।
त्यसको १२ मिनेटपछि नै रश्मिले व्यक्तिगत दोस्रो गोल थप्दै एपीएफको अग्रता दोब्बर बनाइन्। मनमाया दमाईले मध्यभागबाट उपलब्ध गराएको पासमा उनले झापाका डिफेन्डर र गोलकिपरलाई छक्काउँदै आकर्षक गोल गरिन्। पहिलो हाफमै दुई गोलको अग्रता बनाएको एपीएफले त्यसपछि झापालाई खेलमा फर्कने अवसर दिएन।
खेलको सुरुवातदेखि नै एपीएफले आक्रामक रणनीति अपनाएको थियो भने झापा रक्षात्मक देखिएको थियो। झापाले केही अवसर सिर्जना गरे पनि कमजोर फिनिसिङ र एपीएफको बलियो रक्षापंक्तिका कारण गोल गर्न सकेन। १३ जना राष्ट्रिय खेलाडी सम्मिलित एपीएफले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसके पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्दै जित आफ्नो पक्षमा पारेको थियो।
दोस्रो हाफमा झापाले खेलमा सुधार गर्दै दबाब सिर्जना गरे पनि एपीएफको अग्रता घटाउन सकेन । झापाका डिफेन्डरले एपीएफका रश्मि, पूर्णिमा राई, अनिता केसी र कुसुम खतिवडालगायतका खेलाडीका प्रहारलाई लगातार विफल पारेका थिए। अन्ततः पहिलो हाफमा गरेको दुई गोल नै एपीएफको जितका लागि निर्णायक बन्यो।
खेलको प्लेयर अफ द म्याच एपीएफकी कप्तान रेनुका नगरकोटी घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
गत संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो भने एपीएफ उपविजेतामा सीमित भएको थियो। यसपटक भने फाइनलमा स्थान बनाउँदै एपीएफले उपाधि जित्ने अवसर पुनः प्राप्त गरेको छ।
प्रतियोगिताअन्तर्गत बिहीबार हुने दोस्रो तथा अन्तिम सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र अर्को विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले फाइनलमा एपीएफसँग उपाधिका लागि भिड्नेछ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

























