
ललितपुर । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनसम्बन्धी अनुसन्धान र प्रमाणमा आधारित नीति निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
निर्वाचन आयोगले आज ललितपुरमा आयोजना गरेको आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कनसम्बन्धी सरोकारवालासँगको परामर्श बैठकमा निर्वाचन पद्धति र प्रणालीमा गर्नुपर्ने सुधारबारे प्रस्तुतीकरण गर्दै पोखरेलले यस्तो बताएका हुन् ।
उनले आगामी निर्वाचन रणनीतिक योजना तर्जुमा गर्दा निर्वाचन व्यवस्थापन प्रणाली विकेन्द्रीकरण गर्ने, बदर मत घटाउने तथा भूगोलअनुसार मतदाता र जनसङ्ख्याबीच देखिएको असमानता हटाउने विषयमा ध्यान दिनुपर्ने बताए ।
“नेपालको निर्वाचन व्यवस्थापनलाई अझ विश्वसनीय, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको बनाउन विद्यमान प्रणालीमा व्यापक सुधार आवश्यक छ । अन्तर्राष्ट्रिय निर्वाचनसम्बन्धी सूचकमा नेपाल तुलनात्मक रूपमा राम्रो अवस्थामा देखिए पनि सुधार गर्नुपर्ने थुप्रै पक्ष छन्”, उनले भने ।
विदेशमा रहेका नेपाली तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदाताको मतदान अधिकार सुनिश्चित गर्ने, निर्वाचन प्रक्रियालाई डिजिटल बनाउने, निर्वाचन खर्च पारदर्शी बनाउने र राजनीतिक दललाई सुशासन तथा जवाफदेहिताको बाटोमा अघि बढाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
निर्वाचन प्रक्रियामा प्रविधिको प्रयोग गर्दा साइबर सुरक्षा, मतदाताको गोपनीयता, डिजिटल पहुँच र साक्षरतामा पनि उत्तिकै ध्यान दिनुपर्ने उनले बताए । प्रविधि भित्र्याउनुका साथै त्यसलाई सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने संस्थागत क्षमता विकास गर्नुपर्ने उनको भनाइ थियो ।
निर्वाचन खर्चको स्रोत पहिचान, चन्दादाताको पारदर्शिता, उम्मेदवार तथा राजनीतिक दलको आम्दानी र खर्चको प्रभावकारी अनुगमन एवं तेस्रो पक्षबाट हुने निर्वाचन खर्च नियमन गर्ने व्यवस्था आवश्यक रहेको उनले औँल्याए ।

























