रानी नाकालाई व्यवस्थित र यात्रुमैत्री बनाउन संयुक्त अनुगमन

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ११, शुक्रबार १५:११

विराटनगर । नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपमा रहेको विराटनगरको रानी नाकालाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरपालिका र सुरक्षा निकायको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको छ ।

सीमा क्षेत्रमा बढ्दै गएको अव्यवस्थित पार्किङ, सरसफाइ, सार्वजनिक शौचालय व्यवस्थापन तथा चोरीतस्करी नियन्त्रणका विषयलाई केन्द्रमा राखेर टोलीले अनुगमन गरेको हो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको नेतृत्वमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारी र राष्ट्रिय अनुसन्धान विभाग मोरङका प्रमुख राजन सापकोटासहितको टोलीले सीमा नाकाको अवस्थाबारे स्थलगत जानकारी लिएको थियो ।

अनुगमनका क्रममा सीमा क्षेत्रको फोहोर व्यवस्थापन, सार्वजनिक शौचालयको अवस्था, सवारीसाधनको पार्किङ, आवागमनमा देखिएका समस्या तथा सुरक्षा व्यवस्थाबारे छलफल भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । महानगरपालिका, जिल्ला प्रशासन र सुरक्षा निकायबीच समन्वय गरेर सीमा क्षेत्रका समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।

विशेषगरी नेपालतर्फको ढाट र त्यस आसपास देखिएको अव्यवस्थित पार्किङलाई तत्काल व्यवस्थित गर्नुपर्नेमा टोलीले चासो देखाएको छ । सवारीसाधन जथाभावी पार्किङ हुँदा नेपाल र भारतबीच आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । पार्किङ व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन महानगर प्रमुख कोइरालाले निर्देशन दिएका छन् ।

महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार सीमा क्षेत्रमा सवारी आवागमन सहज बनाउन पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । सडक तथा नाकाको आसपास जथाभावी सवारी रोक्दा पैदलयात्रु र सवारीसाधन दुवैलाई समस्या हुने गरेको छ । त्यसैले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने र सम्बन्धित निकायबीच नियमित समन्वय गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।

अनुगमन टोलीले भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई सम्भावित समस्या र जोखिमबाट जोगाउन राखिएको सचेतनामूलक सूचना पाटीको पनि अवलोकन गरेको थियो । महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङको पहलमा सीमा क्षेत्रमा राखिएको उक्त सूचना पाटीमा नेपाली, अंग्रेजी र हिन्दी भाषामा यात्रुले ध्यान दिनुपर्ने विषय समेटिएका छन् ।

भारत प्रवेश गर्दा अपनाउनुपर्ने सावधानी, यात्राका क्रममा ध्यान दिनुपर्ने सुरक्षा उपाय तथा सम्भावित ठगी र अन्य समस्याबाट बच्ने उपायबारे जानकारी दिने उद्देश्यले सूचना पाटी राखिएको हो । त्यसमा रहेको सङ्केत चिह्न स्क्यान गरेर यात्रुले मोबाइलबाटै विस्तृत जानकारी लिन सक्ने व्यवस्था पनि मिलाइएको छ ।

सीमा नाकामा आवागमन सहज बनाउनुका साथै यात्रुको सुरक्षा र सुविधालाई प्राथमिकता दिन यस्ता सचेतनामूलक अभियान प्रभावकारी हुने महानगर प्रमुख कोइरालाले बताए ।

नेपाल–भारतबीच दैनिक ठूलो सङ्ख्यामा मानिसको आवतजावत हुने रानी नाकामा व्यवस्थित पार्किङ, सफा वातावरण, पर्याप्त सार्वजनिक शौचालय र प्रभावकारी सुरक्षा व्यवस्थापन लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.