
विराटनगर । कर्णाली प्रदेशमा जारी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विराटनगरस्थित एभरेस्ट सेकेन्डरी स्कुलका ८ जना विद्यार्थीले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरिरहेका छन् । राष्ट्रिय स्तरको प्रतियोगितामा एउटै विद्यालयका ८ विद्यार्थी छनोट भएर सहभागी हुनुले विद्यालयको खेलकुद उपलब्धिलाई थप उचाइ दिएको छ।
एभरेस्टका ६ विद्यार्थी पौडी र २ विद्यार्थी अन्य विधाबाट कोशी प्रदेशको टोलीमा छनोट भएका हुन्। पौडीमा कक्षा ७ का काब्या कार्की र पुरव तिम्सिना, कक्षा ६ की आश्ना कटुवाल, कक्षा ९ का रेहान अन्सारी, कक्षा १० का धावा सांगे तामाङ तथा बीआईटीका सम्राट पाठक सहभागी छन्।
त्यस्तै, कक्षा १२ का प्रणिता गिरी र सुशान्त मेहताले अर्को खेल विधाबाट कोशी प्रदेशको प्रतिनिधित्व गरिरहेका छन्।
आफ्ना ८ विद्यार्थी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएकोमा खुसी व्यक्त गर्दै विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले विद्यार्थीले हरेक क्षेत्रमा विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्नुपर्ने विद्यालयको सपना साकार हुँदै गएको बताए ।
प्रतियोगितामा कोशी प्रदेशबाट ३१ खेल विधामा ७७५ खेलाडी सहभागी हुँदैछन्। कुल ३२ खेल समावेश गरिएको प्रतियोगितामा पौडी र सुटिङ नेपालगन्जमा तथा अन्य विभिन्न खेल कर्णाली प्रदेशका अलग अलग जिल्लामा सञ्चालन भइरहेका छन्।
मंसिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगिताका खेल भने मंसिर ८ गतेदेखि नै सुरु भएका हुन्। मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ ९एनआरएनए० गरी ११ टोलीको सहभागिता छ।
प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुँदैछ। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले यसपटक विगतका उपलब्धि तोड्दै कोशी प्रदेश उत्कृष्ट बन्ने विश्वास व्यक्त गरे ।



















