मोरङबाट बिदा हुँदै एसपी कवित कटवाल : उत्कृष्ट प्रदर्शन, अपराधविरुद्ध आक्रामक

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १२, शनिबार ०७:२५

विराटनगर । प्रहरी नेतृत्वको सफलता अपराधी पक्राउको संख्याले मात्रै मापन हुँदैन । नागरिकले अनुभूत गर्ने सुरक्षा, अपराध नियन्त्रणमा देखिने सक्रियता र संगठनभित्र स्थापित हुने कार्यसंस्कृतिले पनि त्यसको मूल्यांकन गर्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको नेतृत्व सम्हालेका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले आफ्नो कार्यकालमा यी तीनवटै पक्षमा उल्लेखनीय सक्रियता देखाएका छन् । साथै, अपराधविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका कटवाल शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा उत्कृष्ट प्रदर्शन गर्दै मोरङबाट बिदा हुँदैछन् । गम्भीर अपराधको अनुसन्धानदेखि संगठित अपराध, लागुऔषध कारोबार, तस्करी नियन्त्रण र प्रहरी संगठनको आन्तरिक सुधारसम्म उनले आक्रामक कार्यशैली अपनाए । उनको कार्यकालमा ठूला एवं जघन्यदेखि सबै खाले अपराधमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी सफल भयो ।

२०८२ असोज पहिलो साताबाट मोरङ प्रहरीको नेतृत्व सम्हालेका कटवालले अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरी परिचालन र अनुसन्धानलाई प्रभावकारी बनाउने प्रयास गरे । विशेषगरी जघन्य अपराधका घटनामा तत्काल अनुसन्धान टोली परिचालन गर्ने, प्रमाण संकलन गर्ने र संलग्नलाई कानुनी दायरामा ल्याउने कार्यमा उनको नेतृत्व सक्रिय देखियो । सर्वसाधारणले प्रहरीबाट तत्काल सहयोग पाउन सकून् र अपराधमा संलग्नले कानुनी कारबाहीबाट उन्मुक्ति नपाऊन् भन्ने उद्देश्यले प्रहरी संयन्त्रलाई परिचालन गरिएको उनको कार्यकालको प्रगति विवरणले देखाउँछ ।

विराटनगर महानगरपालिका–१७ स्थित छाला उद्योगनजिक कल्भर्टमुनि हातखुट्टा बाँधेर तन्नाले पोको पारी फालिएको अवस्थामा महिलाको शव फेला परेको घटनामा प्रहरीले दुई घण्टाभित्रै मुख्य आरोपित रोशन साहलाई पक्राउ गरेको थियो । घटनाको अनुसन्धानलाई तीव्रता दिँदै शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा उनका दाजु दीपेन्द्र साहलाई समेत अनुसन्धानको दायरामा ल्याइएको थियो । जघन्य अपराधमा प्रहरीको सक्रियता र अनुसन्धान क्षमताको यो एउटा उदाहरण बन्यो ।

त्यस्तै, लेटाङ नगरपालिका–१ स्थित चिसाङ साझेदारी वनमा सडेको अवस्थामा फेला परेको शव १३ वर्षीया अंशु गौतमको भएको पहिचान गरी प्रहरीले हत्यामा संलग्न पदमबहादुर अधिकारीलाई भारतबाट पक्राउ गरेर नेपाल ल्यायो । जबरजस्ती करणी उद्योग र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको उक्त घटनामा कटवाल स्वयं अनुसन्धानमा खटिएका थिए । सुनवर्षी नगरपालिका–९ डाइनिया मुस्लिम टोलकी चार वर्षीया बालिका कायनत खातुनको हत्या घटनामा पनि प्रहरीले अनुसन्धान गरी आरोपित जान मोहम्मद मन्सुरीलाई कानुनी कारबाहीको दायरामा ल्याएको थियो ।

गम्भीर अपराधको अनुसन्धानसँगै संगठित अपराध र अवैध असुली नियन्त्रणमा पनि मोरङ प्रहरीले सक्रियता देखायो । मोरङ कारागारभित्र रहेका कैदीबन्दीबाट जबरजस्ती र अनधिकृत हिसाबले रकम असुली हुने गरेको सूचनाका आधारमा आपराधिक पृष्ठभूमिका अभिषेक गिरी, विजय कामत, सञ्जय मण्डल र विनोदकुमार सिंहसहित चार जनाविरुद्ध आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । कारागारभित्रैबाट सञ्चालन हुने भनिएका अवैध गतिविधिको अनुसन्धानलाई प्रहरीले प्राथमिकतामा राखेको थियो ।

नक्कली नागरिकता तथा सरकारी कागजात बनाउने गतिविधिविरुद्ध पनि प्रहरीले कारबाही चलायो । विराटनगर–११ स्थित न्यू डोली फोटो स्टुडियोमा छापा मारेर सञ्चालक धनदेव राजवंशी र अशोक श्रेष्ठलाई पक्राउ गरियो । उनीहरूको साथबाट १२ थान नक्कली नागरिकता प्रमाणपत्र, दुई थान सवारी चालक अनुमतिपत्र, जन्मदर्ताका खाली १० थान प्रमाणपत्र, विवाह तथा मृत्यु दर्ताका कागजात, कम्प्युटर र अन्य सामग्री बरामद गरिएको थियो ।

अवैध हतियार नियन्त्रणका लागि सञ्चालन गरिएको ‘सर्च एन्ड सिजर’ अपरेसनअन्तर्गत सुन्दरहरैँचा, लेटाङ र विराटनगरलगायतका स्थानबाट पेस्तोल तथा कटुवा पेस्तोल बरामद गरिए । उर्लाबारीका विभिन्न स्थानबाट पाँच थान भरुवा बन्दुकसमेत फेला पारिएको थियो । एसपी कटवालको कार्यकालमा गुण्डागर्दी, चोरी, तस्करी, ठगी, लागुऔषध कारोबार, हुण्डी र सट्टेबाजीमा संलग्न व्यक्तिहरूको प्रोफाइल तयार पारिएको छ ।

लागुऔषधको बढ्दो समस्या नियन्त्रण गर्न कटवालले जिल्लाव्यापी अभियान नै सञ्चालन गरे । २०८३ जेठ १० गतेबाट सुरु गरिएको ‘लागुऔषधविरुद्धको महाअभियान २०८३’ जिल्लाका १७ वटै स्थानीय तहमा पुर्‍याइएको थियो । अभियानलाई नागरिकस्तरमा प्रभावकारी बनाउन सकारात्मक सन्देश दिने टिकटक प्रतियोगितासमेत आयोजना गरियो । देशभरबाट प्राप्त २८६ वटा टिकटकमध्ये उत्कृष्ट पाँच जनालाई नगद पुरस्कार र अन्य सहभागीलाई उपहार प्रदान गरिएको थियो ।

प्रहरीको विवरणअनुसार कटवालको कार्यकालमा लागुऔषधसम्बन्धी २७९ मुद्दा दर्ता भएका छन् । ३५८ जना पक्राउ परेका छन् भने ५ हजार ४७५ जनालाई परामर्शपछि छाड्नुका साथै ३१ जनालाई सुधारगृह पठाइएको छ । यस अवधिमा ४ हजार २१८ ग्राम खैरो हेरोइन, ८ हजार २५४ किलोग्राम गाँजा, २३ बोतल कोरेक्स, २६८ एम्पुल लुप्रिजेसिक तथा डाइजापाम र १ लाख १२ हजार ५८३ चक्की लागुऔषध बरामद गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

तस्करी नियन्त्रणमा पनि प्रहरीले उल्लेख्य कारबाही गरेको छ । भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका किराना सामान, मेसिनका पार्टपुर्जा, लत्ताकपडा, सौन्दर्य सामग्री तथा सवारीसाधनसहित ९ करोड ६१ लाख २१ हजार ६० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको डीएसपी मिश्रले बताए । अवैध काठ ९३० क्युबिक फिट, पाँचवटा सवारीसाधन र छ जना व्यक्तिलाई नियन्त्रणमा लिएर सम्बन्धित वन कार्यालयमा बुझाइएको छ । त्यस्तै, करिब ४ हजार ७५० लिटर अवैध घरेलु मदिरासहित चारवटा सवारीसाधन र पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।

नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणमा पनि प्रहरी परिचालनलाई तीव्रता दिइयो । यस क्रममा ८४ वटा ट्याक्टर, १९ वटा टिपर, नौवटा जेसिबी र ३२ जना मानिस नियन्त्रणमा लिएर स्थानीय तहमा कारबाहीका लागि पठाइएको छ । यसबाट १९ लाख ३३ हजार २०० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

एसपी कटवालका अनुसार फरार प्रतिवादी पक्राउ प्रहरीको उच्च प्राथमिकतामा पर्यो । यस अभियानअन्तर्गत एक हजार १४८ जना पक्राउ परेका छन् । उनीहरूबाट १ हजार ४४ वर्ष ३ महिना ११ दिन कैद र २ करोड ३९ लाख ५८ हजार १४७ रुपैयाँ जरिबाना असुल भएको जानकारी डीएसपी मिश्रले दिए ।

कटवालको कार्यकालमा अपराध नियन्त्रणलाई पक्राउ र कारबाहीमा मात्रै सीमित नराखी सामाजिक सचेतनालाई पनि उत्तिकै महत्त्व दिइयो । विद्यालय, समुदाय र युवालाई लक्षित गरी लागुऔषध दुर्व्यसन, सामाजिक सञ्जालको दुरुपयोग, यौनजन्य दुर्व्यवहार, सवारी दुर्घटना र आत्महत्या रोकथामलगायतका विषयमा ६६८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए । ती कार्यक्रमबाट ३६ हजार ६५० जना लाभान्वित भएको प्रहरीको भनाइ छ ।

अपराधविरुद्ध आक्रामक देखिएका कटवालले प्रहरी कार्यालयभित्रको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने प्रयास पनि गरे । जिल्ला प्रहरी कार्यालयमा प्रवेश पास प्रणाली लागू गरी अनधिकृत प्रवेश र बिचौलियाको गतिविधि नियन्त्रण गर्ने अभ्यास सुरु गरियो । वृद्धवृद्धा, अपांगता भएका व्यक्ति र अशक्त सेवाग्राहीलाई कार्यालयको गेटमै रहेको नागरिक सहायता कक्षबाट विशेष सेवा दिने व्यवस्था मिलाइयो । सहायता कक्षमा शुद्ध पेयजल प्लान्ट र एलईडी टेलिभिजन जडान गरियो भने डिजिटल सन्देश बोर्डमार्फत नागरिकलाई आवश्यक सूचना प्रवाह गर्ने व्यवस्था गरिएको छ ।

आकस्मिक प्रहरी सेवा १०० मा सेवाग्राहीको चाप बढेपछि त्यसलाई व्यवस्थापन गर्न एकैपटक पाँचवटा कल सञ्चालन हुन सक्ने व्यवस्था मिलाइएको छ । नोबेल मेडिकल कलेजको सहयोगमा फोनमा आएका कल रेकर्ड गर्ने प्रणालीसमेत सञ्चालनमा ल्याइएको छ । विद्युत् अवरुद्ध हुँदा प्रहरीको काम प्रभावित नहोस् भनेर जेनेरेटरको व्यवस्था गरियो । कार्यालयभित्र इन्टरकम जडान, ११ वटा नयाँ कम्प्युटर र नौवटा प्रिन्टर खरिद तथा फाइल सेयरिङ प्रणाली सुरु गरेर कागजरहित कार्यप्रणालीतर्फ पनि कदम चालिएको छ ।

प्रहरीको जवाफदेहिता र पारदर्शिता कायम गर्न सादा पोसाकमा खटिने कर्मचारीलाई अनिवार्य परिचयपत्र लगाउने व्यवस्था लागू गरियो । भिड नियन्त्रण तथा अन्य प्रहरी अपरेसनमा परिचालन हुँदा बडी क्यामेरा बोक्नुपर्ने व्यवस्था गरिएको छ । हिरासतमा रहेका थुनुवालाई समेत मनोपरामर्शकर्तामार्फत प्रत्येक शनिबार अभिमुखीकरण कक्षा सञ्चालन गर्ने अभ्यास सुरु गरिएको छ । २०८२ पुस १९ गतेदेखि सुरु गरिएको यस कार्यक्रमले हिरासतमा रहेका व्यक्तिलाई कानुनी प्रक्रिया र व्यवहारका बारेमा जानकारी दिने उद्देश्य राखेको छ ।

प्रहरी संगठनभित्रको मनोबल र कार्यसम्पादन सुधारलाई पनि उनले प्राथमिकतामा राखे । प्रहरी कर्मचारीलाई अप्ठ्यारो अवस्थामा सहयोग पुर्‍याउने उद्देश्यले आन्तरिक भलाई कोष स्थापना गरियो । कार्यसम्पादनका आधारमा कार्यकालको सुरुदेखि हालसम्म ४७७ जना प्रहरी कर्मचारीलाई पुरस्कृत र २१ जनालाई कारबाही गरिएको छ । प्रत्येक महिनाको पाँच गते मातहतका युनिट इन्चार्जलाई बोलाएर अघिल्लो महिनाको कार्यसम्पादन समीक्षा गर्ने र उत्कृष्ट इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीलाई पुरस्कृत गर्ने अभ्याससमेत सुरु गरिएको छ ।

आन्तरिक सरुवा तथा जिम्मेवारी बाँडफाँटलाई व्यवस्थित गर्न आन्तरिक अह्रनखटन मापदण्ड, २०८२ जारी गरियो । एउटै प्रहरी युनिटमा एक वर्षभन्दा बढी बस्न नपाउने र कमान्डरको भूमिकामा छ महिनासम्म मात्रै खटाउने व्यवस्थासहित कार्यसम्पादनका आधारमा जिम्मेवारी दिने अभ्यास थालियो । सबै प्रहरी युनिटमा कार्यालयको सीयूजी फोन प्रयोग अनिवार्य गरियो । प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि र उत्प्रेरणाका लागि उत्कृष्ट घोषित मातहतका कर्मचारीलाई निःशुल्क ड्राइभिङ तालिम दिने व्यवस्था पनि गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।

सार्वजनिक सम्पत्तिको संरक्षण र प्रहरी संरचना विकासमा पनि कटवालले समन्वयकारी भूमिका निर्वाह गरे । विराटनगर–३ बरगाछीस्थित प्रहरी चौकीको नाममा दर्ता रहेको जग्गामा घर बनाएर ५१ वर्षदेखि अरुले नै भोगचलन गर्दै आएका थिए । अदालतको फैसला कार्यान्वयन हुन नसकिरहेको अवस्थामा समन्वय गरेर २०८३ असार ५ गते उक्त घर प्रहरी चौकीलाई हस्तान्तरण गराउन एसपी कटवाल सफल भए । त्यसपछि स्थानीयको सहभागितामा नयाँ संरचना निर्माणका लागि समिति गठन गरी प्रक्रिया अघि बढाइएको छ ।

त्यस्तै, कोशी अस्पतालको स्वामित्वमा रहेको विराटनगर–७ स्थित जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा, पसल तथा औषधि पसलका संरचना हटाएर अस्पतालको जग्गा खाली गराउन प्रहरी परिचालन गरियो । लामो समयदेखि अतिक्रमणमा रहेको सार्वजनिक जग्गा खाली गराउने काममा पनि उनले प्रभावकारी समन्वय गरेको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालयअन्तर्गतको सीसीटीभी प्रणाली विराटनगर महानगरपालिका र विभिन्न संघसंस्थासँगको समन्वयमा ३४ लाख रुपैयाँ बराबरको लागतमा पुनः जडान गरियो । जेनजी आन्दोलनको आवरणमा आगजनी, तोडफोड र लुटपाट गर्दै सरकारी तथा व्यक्तिगत संरचना ध्वस्त बनाउने गिरोहलाई समेत पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको छ ।

धनपालथान गाउँपालिका–४ स्थित प्रहरी चौकी कर्सियाका लागि स्थानीय समाजसेवी मोतिलाल राजवंशी र विमल राजवंशीबाट जग्गा प्राप्त गर्न पनि समन्वय गरिएको छ । प्रहरी कार्यालयमा मिटिङ हल नभएको समस्या समाधान गर्न ८२ लाख ७० हजार ९०२ रुपैयाँ लागत अनुमानमा निर्माण प्रक्रिया अघि बढाइएको छ । उक्त संरचनाको ५० प्रतिशत काम सम्पन्न भएको प्रहरीको विवरण छ । कार्यालय परिसरमा लन्ड्री हाउस र उजुरी छानबिन शाखाका लागि छुट्टाछुट्टै संरचना निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

चाडपर्व र निर्वाचन सुरक्षामा पनि प्रहरी परिचालनलाई व्यवस्थित बनाइएको थियो । दसैँ, तिहार र छठलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको थियो । २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न हुनु पनि एसपी कटवालको कार्यकालको महत्वपूर्ण उपलब्धि हो ।

अपराध अनुसन्धान, शान्ति सुरक्षा, लागुऔषध नियन्त्रण, तस्करीविरुद्धको कारबाही, गुण्डागर्दी नियन्त्रण, सार्वजनिक सम्पत्ति संरक्षण र नागरिकमैत्री सेवा प्रवाहलाई एकसाथ अघि बढाउने प्रयास गरेका एसपी कटवाल अब नयाँ जिम्मेवारीमा जाँदैछन् । यही मंसिर ८ गतेको सरुवा अनुसार उनको प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ । मोरङमा हासिल गरेको उत्कृष्टताकै कारण सरुवा हुँदा पनि कटवालले महत्वपूर्ण जिम्मेवारी पाएका हुन् । उनको स्थानमा साइबर ब्युरोको अपराध अनुसन्धान शाखामा कार्यरत एसपी दिलीपकुमार गिरीको सरुवा भएको छ ।

कटवालले आगामी सोमबार मोरङ छाड्ने र गिरीले त्यही दिनदेखि मोरङ प्रहरीको नेतृत्व सम्हाल्ने तयारी गरेका छन् । कटवालको सरुवासँगै मोरङ प्रहरीको नेतृत्व फेरिए पनि उनले सुरु गरेका अभियान र अभ्यासको निरन्तरता अब नयाँ नेतृत्वका लागि मुख्य चुनौती हुने सरोकारवाला बताउँछन् । विशेषगरी संगठित अपराध, लागुऔषधको धन्दा, तस्करी, कारागारभित्रको अवैध असुली र सार्वजनिक सम्पत्ति अतिक्रमणविरुद्ध सुरु गरिएका कामले निरन्तरता पाउँछन् कि पाउँदैनन् भन्ने विषय चासोको केन्द्रमा रहनेछन् ।

मोरङमा एसपी कटवालको कार्यकाल अपराधविरुद्धको सक्रियता, प्रहरी संगठनभित्रको सुधार र नागरिकमैत्री सेवा प्रवाहका प्रयासका कारण स्मरणीय रहने प्रहरी अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार प्रहरी नेतृत्व परिवर्तन भए पनि अपराध नियन्त्रणमा देखिएको आक्रामकता, सेवामा सहजता र संगठनभित्र स्थापित गर्न खोजिएको जवाफदेहिताको अभ्यासलाई निरन्तरता दिनु नयाँ नेतृत्वको मुख्य जिम्मेवारी हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.