सिनेमा, कलाकार र पर्यटन क्षेत्रबीच सहकार्य आवश्यक : मन्त्री पराजुली

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ४, आइतबार १२:२०
सिनेमा, कलाकार र पर्यटन क्षेत्रबीच सहकार्य आवश्यक : मन्त्री पराजुली

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले सिनेमा, कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले प्रदेशको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।

नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्वारा मोरङको सुन्दरहरैँचा –२ स्थित मृगौलियामा आयोजित  ‘सिनेमामा कोशी प्रदेश, कोशी पर्यटन प्रवर्द्धनमा सिनेमा र कलाकार’ विषयक अन्तरक्रिया परिचयपत्र वितरण, सम्मान तथा वृहत् चलचित्रकर्मी भेलालाई सम्बोधन गर्दै मन्त्री पराजुलीले कलाकारमार्फत प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रभावकारी प्रचार सम्भव हुने बताए ।

उनले सिनेमा र कलामार्फत जाने सन्देशले कोशी प्रदेशको आर्थिक, सांस्कृतिक र पहिचान सुदृढ हुने विश्वास व्यक्त गर्दै प्रदेशभित्र छायाँकन हुने चलचित्रलाई आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

मन्त्री पराजुलीले सुन्दरहरैँचा–२ मृगौलियामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको चलचित्र सुटिङ भवन निर्माण हुन लागेकोमा खुसी व्यक्त गर्दै कलाकारहरूलाई कला क्षेत्रको उन्नयन र प्रवर्द्धनमा सक्रिय रूपमा जुट्न आग्रह गरे।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी तथा नायक शिव श्रेष्ठ, वरिष्ठ चलचित्रकर्मी तथा निर्देशक रमेश बुढाथोकी, परान फिल्मका लेखक तथा निर्देशक दीपक आचार्यलगायतलाई सम्मान गरिएको थियो भने पूर्व क्षेत्रका एक सयभन्दा बढी कलाकारलाई परिचयपत्र वितरण गरिएको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.