
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको राजीनामा औपचारिक रूपमा दर्ता भएसँगै महानगरको आकस्मिक कार्यपालिका बैठक सुरु भएको छ।
महानगरको मुख्यालयमा बैठक सुरु भएको हो । मेयर साहको राजीनामाका लागि उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं लगायत प्रतीक्षामा बसेका थिए ।
मेयरको बिदाइको विषयमा मेयर, उपमेयर र उच्च कर्मचारीबीच फोन संवाद भइरहे पनि साहले कार्यालय आउने यकिन समय नबताउँदा कति बेला आउने भन्ने अन्यौलता दिनभर कायम रहेको थियो ।
यही बीच उपमेयर डंगोलले कर्मचारीहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल चलिरहँदा बालेनको सचिवालयबाट मेयरले राजीनामा नदिई सिधै उम्मेदवारी दर्ता गर्ने र निर्वाचन आयोगको कानुनअनुसार स्वतः मेयर पद रिक्त हुने जानकारी गराएको थियो । यही कारण दिनभर राजीनामाको प्रक्रिया होल्डमा रह्यो ।
अन्तिम समयमा बालेनले एकाएक आइतबार दिउँसो करिब ३ बजे वारेसमार्फत राजीनामा पत्र उपमेयरको कार्यकक्षसम्म पुर्याए ।
राजीनामा पत्र बुझेसँगै कार्यवाहक प्रमुख बनेकी सुनिता डंगोलको अध्यक्षतामा अहिले महानगरको आकस्मिक बैठक बसिरहेको छ।
बैठकले निवर्तमान मेयरलाई धन्यवाद दिँदै औपचारिक बिदाइ गर्ने बुझिएको छ।
























