
विराटनगर । सामाजिक विकासमा विद्यार्थीको क्षमता विकास लागि पूर्वाञ्चल विश्वविद्यालयमा नयाँ परियोजना सुरु भएको छ ।
‘नेपालमा सामाजिक विकास अभ्यास सुदृढीकरण’ परियोजना सुरु भएको हो । युरोपियन युनियनको सहयोग तथा ओष्ट्राभा विश्वविद्यालय, चेक रिपब्लिक र स्पेनको राष्ट्रिय दूर शिक्षा विश्वविद्यालयको सहकार्यमा २०२६ जनवरीदेखि सुरु भएको परियोजना सन् २०२८ सम्म सञ्चालन हुने जनाइएको छ । परियोजनाले सामाजिक कार्यका ३० जना प्राध्यापकलाई प्रशिक्षकको रुपमा विकास गर्ने र प्रशिक्षित प्रशिक्षकहरूले विभिन्न सामाजिक संघ संस्थासँग मिलेर काम गर्ने छ ।
पूर्वाञ्चल विश्वविद्यालयसँगै त्रिभूवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालयमा समेत एकैसाथ सञ्चालनमा आएको परियोजनाले सामाजिक विकास कार्यका लागि नेपालभरका ६ सय जना विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने लक्ष राखेको छ । परियोजनाका स्रोत व्यक्तिहरु प्राध्यापक डाक्टर एन्टिनो लोपेज र डा. इनेश मार्टिनेजले पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा सोमबार सामाजिक कार्यका विद्यार्थी र प्राध्यापकहरूसँग छलफल गरेका छन् ।
सामाजिक कार्यको अध्ययन सकेर काम गरिरहेका विद्यार्थी र सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिसँग समेत उनीहरुले छलफल गरेका थिए । त्यस्तै, विराटनगरस्थित बाल सुधारगृह, सिविन नेपाल, रिचमण्ड फेलोसिपको पनि अवलोकन गर्ने बताइएको छ ।
छलफल मुख्यगरी नेपालमा सामाजिक कार्य, शिक्षाको अवस्था, चुनौतीहरु, सम्भावना, अवसर र पाठ्यक्रममा गर्नुपर्ने सुधारमा केन्द्रित रहेको जनाइएको छ ।

























