राष्ट्रियता बलियो बनाउन सबै एक हौँ, जेनजीका माग मैले पहिल्यै उठाएको हुँ : डा. कोइराला

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २१, बुधबार २०:११
राष्ट्रियता बलियो बनाउन सबै एक हौँ, जेनजीका माग मैले पहिल्यै उठाएको हुँ : डा. कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियता बलियो बनाउनु सबै एक हुनु आवश्यक रहेको बताएका छन् । विराटनगरमा बुधबार आयोजित ‘जलाइएको निवास र बाँचेका विचार’ विषयक कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिलेको अवस्थामा सबैले एक भएर राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

नेता कोइरालाले पछिल्लो समय सबैले लोकतन्त्रको आधारभूत सिद्धान्त नै बिर्सिँदै गएको जस्तो देखिएको उल्लेख गरे । उनले भने,  ‘राष्ट्रियता लोकतन्त्र प्रजातन्त्र, समाजवादप्रति आफूहरूको विचार अडिग रहेको छ । यी विचारलाई अघि बढाएर आउँदो निर्वाचनमा सबैले फेरि काँग्रेसलाई एक नम्बरको पार्टी बनाउन आवश्यक छ ।’

जेनजी आन्दोलनले सुशासन, भ्रष्टाचारमुक्त समाज, रोजगारीको माग गरेको बताउँदै उनले भने,  ‘जेनजीले माग गरेको अधिकांश माग विगत देखिनै आफूले उठाउँदै आएको हो । मैले नै यो मुद्दा विगत ४ वर्षदेखि उठाउँदै आएको हो । कोभिड महामारीको समय स्थानीय तहमा ४० प्रतिशत, प्रदेशसभामा ३० र केन्द्रमा २० प्रतिशत युवालाई निर्वाचनमा उपस्थित गराउनुपर्ने बताएको थिए । त्यसैले युवाको मागलाई मैले उठाउँदै आएको हो ।’

मुलुक निर्वाचनमय बनिसकेको हुँदा उनले घरदैलो कार्यक्रममा जनताले विकास हेर्न चाहेको प्रस्ट्याए । नेता कोइरालाले भने,  ‘जनताले विगतको जस्तो धेरै कुराको अपेक्षा गरेको छैनन् । उनीहरू केवल विकासमा ध्यान दिइरहेका छन् । वडा तहमा न जेनजी न प्रशासन कसैको कुरा आएन । बरु विकासका कसरी गर्न सकिन्छ त्यसमा केन्द्रित हुनुहुन्छ । हामी उहाँहरूले खोज्नु भएको विकासलाई सार्थक बनाउन लागि परेका छौ ।’

विकासलाई प्राथमिकतालाई राख्नका लागि सुशासन, भ्रष्टाचारमुक्त समाज आवश्यक रहेको उनले बताए । कार्यक्रममा राजनीतिज्ञ सूयर्माराज राई, साहित्यकार सीमा आभास, र प्रा.डा. हरिहर भण्डारीले बिपी कोइरालासँग जोडिएको साहित्यको पाटोको चर्चा गरेका थिए ।

राजनीतिज्ञ तथा कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्य राईले कोइराला परिवारसँग काँग्रेस र जनताबीचको सम्बन्धबारे चर्चा गरेका थिए । जेनजी आन्दोलनले काँग्रेसको धरोहर स्थल विराटनगरको निवास जलाए पनि त्यहाँबाट उत्पादन भएका विचार अमर रहेको प्रस्ट्याएका थिए । सोही क्रममा साहित्यकार विवश पोखरेल, चूडामणि नेपाल ‘अकिञ्चन’, जेनजी अर्पित कुवँर लगायतले कविता वाचन गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.