
काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज (मंगलबार) केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशसहित उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । मंगलबार बिहानैदेखि तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा दिनभर सामान्यदेखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । बाँकी प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदलीको अवस्था रहनेछ भने अन्य पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।
तराई क्षेत्रका अधिकांश स्थानमा भने दिनभर मौसम सफा रहने जनाइएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।
ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले त्यहाँ यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् । हिमपातका कारण सडक यातायात, हवाई उडान तथा जनजीवनमा सामान्य प्रभाव पर्न सक्ने अनुमान गरिएको छ ।
मंगलबार राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ । विशेषगरी कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली कायम रहनेछ । बाँकी अधिकांश भू–भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । पछिल्ला दिनहरूमा क्रमशः चिसो घट्दै गए पनि पश्चिमी वायु सक्रिय हुँदा पहाडी र हिमाली क्षेत्रमा मौसम फेरि बदली हुन थालेको हो ।
मौसममा हुने परिवर्तनले विशेषगरी कृषक, पर्यटक तथा हिमाली क्षेत्रमा आवतजावत गर्नेलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसमविद्हरूका अनुसार केही दिनसम्म देशभर ठूलो प्रणाली सक्रिय नदेखिए पनि पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र हल्का वर्षा तथा हिमपातको क्रम भने जारी रहन सक्छ ।

























