
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं बुधबार जेलमुक्त भएका छन्। सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका हुन्। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै उनलाई रिहा गर्न आदेश दिएको थियो।
अदालतको आदेश मंगलबार नै आए पनि कानूनी र प्रशासनिक प्रक्रिया पूरा गर्न समय लागेका कारण उनी बुधबार मात्रै रिहा भएका हुन्। निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको र उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन्। पछिल्लो समय उनले बैंक तथा वित्तीय संस्था विरुद्धको आन्दोलन र व्यवस्था विरोधी अभियान चलाउँदै आएका थिए। उनको रिहाइपछि समर्थकहरूले खुसीयाली मनाएका छन्।

























