
काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका तर मृत्यु भइसकेका व्यक्तिको नाममा हुनसक्ने अवाञ्छित मतदान रोक्न आफू पूर्ण रूपमा सचेत रहेको बताएको छ। आयोगद्वारा सञ्चालित ‘कल सेन्टर’ मा सर्वसाधारणले मृतकको नामको दुरुपयोग हुनसक्ने भन्दै राखेको जिज्ञासाको जवाफ दिँदै आयोगले यस्तो स्पष्ट पारेको हो।
आयोगका अनुसार मतदाता नामावली अन्तिम रूपमा छापिनुअघि मृत्यु भएको सूचना प्राप्त भएका सबै व्यक्तिको नाम हटाइसकिएको छ। यद्यपि सूचना प्राप्त नभएका वा नामावली प्रकाशन भएपछि मृत्यु भएका व्यक्तिको नाम भने सूचीमा रहन सक्छ। यस्तो अवस्थामा हुने सम्भावित दुरुपयोग रोक्न आयोगले विशेष सुरक्षा संयन्त्र अपनाएको छ।
कसरी रोकिन्छ दुरुपयोग?
आयोगले मृतक वा अन्य व्यक्तिको नाममा मतदान हुन नदिन विभिन्न उपायहरू अपनाएको छ। हरेक मतदान केन्द्रमा फोटोसहितको रंगिन मतदाता नामावली पठाइएको छ। मतदान अधिकृतले मतपत्र दिनुअघि मतदाताको फोटो, परिचयपत्र र अनुहार भिडाएर मात्र प्रक्रिया अघि बढाउँछन्।
मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीले शङ्कास्पद गतिविधिको निगरानी गर्छन् र फर्जी मतदानको प्रयास भएमा तत्काल नियन्त्रणमा लिन्छन्। साथै विभिन्न राजनीतिक दलका मतदान प्रतिनिधिहरूले मतदाताको पहिचान गर्ने र गलत मान्छे आएमा तत्काल विरोध गर्ने अधिकार राख्छन्।
आयोगले निर्वाचनसम्बन्धी कुनै पनि अलमल वा जिज्ञासा भएमा नि:शुल्क टोल-फ्री नम्बर ११०२ मा कल गरेर जानकारी लिन सकिने समेत जानकारी दिएको छ। यी संयन्त्रका कारण मृतकको नाममा मतदान हुने सम्भावना नरहेको आयोगको दाबी छ।

























