
काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु रहने भएका छन्। निर्वाचन आयोगले ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गर्दै निर्वाचनको समयमा कुनै पनि उडान नरोकिने स्पष्ट पारेको छ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार निर्वाचनका दिन हवाई यात्रा गर्ने यात्रु र सम्बद्ध कर्मचारीको आवतजावतलाई सहज बनाउन आवश्यक पासको व्यवस्था गरिनेछ। यसका लागि निर्वाचन आयोग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउनेछन्।
विमानस्थलमा कार्यरत कर्मचारीहरूलाई कार्यक्षेत्रमा पुग्न र पर्यटकहरूलाई होटलदेखि विमानस्थलसम्म आउन–जानका लागि विशेष सवारी पासको प्रबन्ध गरिने कार्यविधिमा उल्लेख छ। सम्बन्धित एयरलाइन्स वा कम्पनीहरूले उडानका लागि आवश्यक पर्ने यस्तो पास दुई दिन अगावै लिइसक्नुपर्ने व्यवस्था गरिएको छ।

























