
काठमाडौं । राष्ट्रिय गौरवको हुलाकी राजमार्ग निर्माण सुरु भएको १६ वर्ष पुग्दा पनि यसको भौतिक प्रगति ७४.३५ प्रतिशत मात्र सीमित भएको छ । आर्थिक वर्ष २०६६/६७ बाट निर्माण थालिएको यो आयोजना बजेट अभाव, नीतिगत ढिलाइ र ठेक्का व्यवस्थापनमा देखिएका समस्याका कारण अलपत्र परेको हो ।
झापाको केचनाकवलदेखि कञ्चनपुरको दोधारा चाँदनीसम्म तराईका २१ जिल्ला जोड्ने यस राजमार्गको कूल दूरी १ हजार ८ सय ५७ किलोमिटर रहेको छ । हालसम्म १ हजार ३ सय ८० किलोमिटर सडक कालोपत्र भएको छ भने ३ सय वटा पुल निर्माण गर्नुपर्नेमा १५३ वटा मात्र सम्पन्न भएका छन् । आयोजनाको सुरुवाती लागत ४७ अर्ब रुपैयाँ अनुमान गरिए पनि समयमै काम नसकिँदा संशोधित लागत १ खर्ब १ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । हालसम्म ७१ अर्ब ५५ करोड रुपैयाँ खर्च भइसकेको छ ।
विशेष गरी झापाको कन्काई र सिरहा–धनुषा जोड्ने कमला नदीको पुल निर्माणमा भएको ढिलाइले स्थानीयले ठूलो सास्ती खेपिरहेका छन् । १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का गत मंसिरमा तोडिए पनि नयाँ ठेक्का प्रक्रिया अझै सुरु हुन सकेको छैन । यस्तै, कमला नदीको पुल निर्माण सम्पन्न हुने चरणमा रहँदा २०७८ को बाढीले जग भासिएपछि पुनः निर्माणको पर्खाइमा छ । आयोजनाका निर्देशक कुवेर नेपालीका अनुसार अब सबै काम सक्न थप २७ अर्ब रुपैयाँ आवश्यक पर्नेछ, तर अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता हुन बाँकी छ ।
चितवन राष्ट्रिय निकुञ्ज, कपिलवस्तु र दाङको वन क्षेत्रमा अझै सडकको रेखाङ्कन र ठेक्का हुन बाँकी छ । २०७४/७५ मै सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाको म्याद पछिल्लो पटक २०८३/८४ सम्म थपिएको छ । तर, बजेटको सुनिश्चितता र तोडिएका ठेक्काको व्यवस्थापन समयमै नभए यो लक्ष्य भेट्न पनि चुनौतीपूर्ण देखिएको छ ।

























