
विराटनगर । होली पर्वको पूर्वसन्ध्यामा बजारमा बिक्रीका लागि ल्याइएका राजनीतिक सन्देश र नेताहरूको तस्बिर अंकित टी–सर्टहरू मोरङ र झापाबाट धमाधम जफत गर्न थालिएको छ ।
निर्वाचन नजिकिँदै गएको र मौन अवधि सुरु हुन लागेकाले त्यस्ता टी–सर्ट निर्वाचन आचारसंहिताविपरीत प्रचार सामग्री बन्न सक्ने आशंकामा प्रहरीले नियन्त्रणमा लिन थालेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)को नाम तथा तस्बिर जोडिएका टी–सर्टहरू जफत गरिएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले बताए ।
बालेन झापाको क्षेत्र नम्बर ५ बाट र रवि चितवनको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । झापाको बिर्तामोड, मेचीनगर, दमक र बुद्धशान्ति क्षेत्रका विभिन्न पसलबाट ‘अब कि बार, बालेन सरकार’ र ‘यसपालिको होली बालेनसँग’जस्ता नारा लेखिएका २ सय ६२ थान टी–सर्ट जफत गरिएको छ ।
होलीकै दिन फागुन १८ गतेदेखि मौन अवधि सुरु हुने र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन गइरहेको सन्दर्भमा यस्ता सामग्री बिक्री वितरणले आचारसंहिता उल्लंघन गर्न सक्ने भएकाले पूर्वसावधानीस्वरूप नियन्त्रणमा लिइएको एसएसपी थापाले बताए । झापामा सबैभन्दा बढी टी–सर्ट बिर्तामोड क्षेत्रबाट बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट खटिएको इन्स्पेक्टर रुपेश राई नेतृत्वको टोलीले बिर्तामोड नगरपालिका–५ कृषि थोकनजिकबाट बिहीबार दिउँसो ३ः१५ बजेतिर अनुगमनका क्रममा ८७ थान टी–सर्ट जफत गरेको थियो । सनाया कलेक्सनबाट २८, दुर्गा इन्टरप्राइजेजबाट १४, निकिता भेराइटिजबाट ४१ र मामा कलेक्सनबाट ४ थान टी–सर्ट बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसको केही समयपछि दिउँसो ४ः३० बजेतिर प्रहरी चौकी बिर्ता बजारबाट असई सुशान्त पौडेलको कमान्डमा खटिएको टोलीले बिर्ता बजार हाटका पाँचवटा पसलबाट थप ६८ थान टी–सर्ट नियन्त्रणमा लिएको छ । अरुण साहको पसलबाट ५७, गणेश दत्तको पसलबाट ४, अभि दत्तको पसलबाट २, रञ्जित महतोको पसलबाट ४ र रणकुमार साहको पसलबाट १ थान टी–सर्ट बरामद गरिएको हो ।
मेचीनगर नगरपालिका–६ काँकडभिट्टा बजारबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टाका इन्स्पेक्टर वीरेन्द्र कोइराला नेतृत्वको टोलीले ४३ थान टी–सर्ट जफत गरेको छ । खनाल स्टोर्सबाट ३३, छिरीङ स्टोरबाट १० र मंगलर स्टोरबाट ४ थान टी–सर्ट फेला परेको प्रहरीले जनाएको छ । यस्तै मेचीनगर–१० धुलाबारी बजारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट इन्स्पेक्टर नकुलराज गौतमको नेतृत्वमा खटिएको टोलीले १७ थान टी–सर्ट बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक नगरपालिका–१ स्थित सन्तोष रेडिमेड पसलबाट २० र कृष्ण भेराइटीबाट १ थान गरी २१ थान टी–सर्ट जफत गरेको छ । बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट सई चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले २६ थान टी–सर्ट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
विराटनगरबाट झापाभन्दा ठूलो परिमाणमा समान प्रकृतिका टी–सर्ट बरामद भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगरका विभिन्न स्थानबाट निर्वाचन आचारसंहिताविपरीतका सामग्री फेला पारेर बरामद गरेको हो ।
प्रहरीका अनुसार बजारका विभिन्न पसलमा बिक्रीका लागि राखिएका भेष्ट तथा टी–सर्टमा रवि र बालेनको संयुक्त तस्बिर छापिएको थियो । प्रहरीले १ हजार ५ सय थान भेष्ट तथा टी–सर्ट बरामद गरेको छ ।

बरामद गरिएको सामग्रीका बारेमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एसएसपी थापाले बताए । उनका अनुसार मोरङ र झापाबाट हालसम्म १ हजार ७ सय ६२ थान टी–सर्ट तथा भेष्ट नियन्त्रणमा आइसकेको छ । निर्वाचन नजिकिँदै गएको अवस्थामा यस्ता सामग्रीले मतदातामा प्रभाव पार्न सक्ने र मौन अवधिमा अप्रत्यक्ष प्रचारप्रसारको माध्यम बन्न सक्ने जोखिम देखिएकाले कारबाही गरिएको उनले बताए ।
निर्वाचन आचारसंहिताले मौन अवधिमा कुनै पनि किसिमको प्रचार सामग्री उत्पादन, प्रदर्शन, वितरण वा बिक्री गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । होली पर्वकै दिनदेखि मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै सम्भावित उल्लंघन रोक्न कदम चालिएको जानकारी एसएसपी थापाले बताए ।
प्रहरीले सबै व्यापारी तथा सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै यस्ता सामग्री उत्पादन, आयात र बिक्री वितरण नगर्न सचेत गराएको छ । आगामी दिनमा समेत बजार अनुगमनलाई तीव्र बनाइने र आचारसंहिताविपरीत गतिविधि भेटिए कारबाही गरिने चेतावनी प्रहरीले दिएको छ ।
होलीजस्तो सांस्कृतिक पर्वको अवसरलाई राजनीतिक प्रचारसँग जोडेर बजारमा सामग्री ल्याइएकाले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने प्रहरीको निष्कर्ष छ । सम्भावित विवाद, आचारसंहिता उल्लंघन र मतदातामा पर्ने प्रभावलाई ध्यानमा राख्दै प्रहरी आक्रामक रूपमा प्रस्तुत भएर निगरानी कडा बनाएको जानकारी एसएसपी थापाले दिए ।

























