
दोलखा । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्। दोलखाको बैतेश्वर गाउँपालिकाका विभिन्न मतदान केन्द्रहरूको शुक्रबार स्थलगत निरीक्षण तथा अनुगमन गर्दै मन्त्री अर्यालले निर्वाचनको सुरक्षा तयारीबारे जानकारी लिएका हुन्।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री अर्यालले विगतका निर्वाचनमा भएका कमीकमजोरीलाई सच्याउँदै यसपटक शान्तिपूर्ण र धाँधलीरहित ढंगले मतदान गराउन सुरक्षा निकायलाई निर्देशन दिए। उनले सामाजिक सञ्जालमा फैलाइने मिथ्या सूचना र दुष्प्रचारबाट सचेत रहन आग्रह गर्दै सबैलाई निर्धक्क भएर निर्वाचनको तयारीमा जुट्न अनुरोध गरे। निरीक्षणका क्रममा मन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले स्थानीय सरोकारवालाहरूसँग अन्तरक्रिया समेत गरेको थियो।
अनुगमन टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, एआईजी गणेश ठाडा मगर र गृह मन्त्रालयका अधिकारीहरूको सहभागिता रहेको थियो। टोलीले वि.सं. २०७९ को निर्वाचनमा देखिएका सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यसपटक सीमानाका र संवेदनशील क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको जानकारी दिएको छ।
बैतेश्वर गाउँपालिकामा कुल ८ वटा मतदान स्थल र २१ वटा मतदान केन्द्रहरू रहेका छन्, जहाँ १८ हजार ४ सय २२ जना मतदाताले मतदान गर्दैछन्। गृह मन्त्रालयका सह–प्रवक्ता रमा आचार्यका अनुसार छलफलमा निर्वाचन सुरक्षा योजनालाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर स्थानीय प्रशासनलाई आवश्यक सुझाव दिइएको थियो।

























