
काठमाडौं। निर्वाचन आयोगले आगामी निर्वाचनलाई लैङ्गिक रूपमा समावेशी बनाउन विशेष पहल सुरु गरेको छ। संविधान र कानुनको मर्म अनुसार निर्वाचनका प्रत्येक चरणमा महिला सहभागिता सुनिश्चित गर्न आयोगले राजनीतिक दल, मतदान केन्द्र र स्थानीय तहसम्म लैङ्गिक सम्पर्क व्यक्ति तोकेको हो।
आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार निर्वाचन समावेशी बनाउन आयोग सदैव प्रतिबद्ध छ। आयोगले प्रत्येक राजनीतिक दललाई निर्वाचन सम्पर्क व्यक्तिका रूपमा महिलालाई नै पठाउन अनुरोध गरेपछि अहिले अधिकांश दलमा महिलाहरू नै सम्पर्क व्यक्तिका रूपमा कार्यरत रहेका छन्।
देशभरका ७ सय ५३ वटै स्थानीय तहमा लैङ्गिक सम्पर्क व्यक्ति तोकिएको र यसले ६ हजार ७ सय ४३ वटा मतदान केन्द्रमा सूचना समन्वय गर्ने उनले बताइन्।
त्यसैगरी, मतदान केन्द्रहरूलाई महिला तथा अपाङ्गता मैत्री बनाउन आयोग गम्भीर रहेको तुलाधरले स्पष्ट पारिन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३ जना मुख्य निर्वाचन अधिकृत र १८ जना निर्वाचन अधिकृत गरी कुल २१ जना महिलालाई निर्वाचन अधिकृतका रूपमा खटाइएको छ।

























