मध्यपूर्वी युद्धको छायामा लाखौं नेपालीको चिन्ता, ओलीको सन्देश ‘हामीले मिसाइलको धुवाँ कहिल्यै देख्न नपरोस्’

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १७, आइतबार ०७:१०

विराटनगर । मध्यपूर्वका आकाशमा मिसाइल बर्सिँदै गर्दा उडेको धुवाँले विश्व समुदाय मात्र नभएर नेपालका लाखौं परिवारको मनमा पनि धक्का पुर्‍याएको छ ।

खाडी क्षेत्रका विभिन्न देशमा श्रम, रोजगारी र व्यवसायमा संलग्न रहेका नेपाली नागरिकहरूको सुरक्षाबारे चासो तीव्र बन्दै गएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गहिरो भावनात्मक सन्देश सार्वजनिक गर्दै युद्धप्रति चिन्ता व्यक्त गरेका छन् । ओली झापाको क्षेत्र नम्बर ५ बाट आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि छन् ।

ओलीले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको भनाइमा युद्धको विभीषिका, भूराजनीतिक टकराव र शक्तिराष्ट्रहरूको स्वार्थका कारण सामान्य नागरिकले भोग्नु परेको पीडाप्रति गम्भीर चिन्ता प्रकट गरिएको छ । ‘मध्यपूर्वी देशहरू माथिको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले आज निद्रा परेको छैन’ भन्दै उनले सुरु गरेको अभिव्यक्तिमा ती देशमा रहेका लाखौं नेपाली अप्ठ्यारो र कोलाहलको बीचमा रहेको उल्लेख छ ।

विभिन्न खाडी मुलुक, इजरायल लगायत मध्यपूर्वका देशहरूमा ठूलो संख्यामा नेपाली कामदार कार्यरत छन् । पछिल्लो समय क्षेत्रीय तनाव चुलिँदै जाँदा त्यहाँ बसोबास गर्ने नेपालीहरू प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित हुन सक्ने चिन्ता बढेको छ ।

कतिपय स्थानमा हवाई आक्रमण, रकेट प्रहार तथा सुरक्षा सतर्कता बढाइएका समाचार बाहिरिएका छन् । ओलीले आफ्नो सन्देशमा भनेका छन्, ‘ती देशमा लाखौं नेपाली अप्ठ्यारो र कोलाहलमा छन् । तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ ।’

उनले युद्धलाई अस्वाभाविक र खतरनाक अवस्था भन्दै खुला विश्व व्यवस्थामा अवसर खोज्दै विभिन्न देशमा पुगेका नागरिकहरूलाई भूराजनीतिक द्वन्द्वले असुरक्षित बनाएको उल्लेख गरेका छन् । उनको भनाइमा विश्व आज सीमाविहीन अवसरको युगमा प्रवेश गरिसकेको छ, जहाँ मानिसहरू काम, अध्ययन र व्यवसायका लागि देश–देशान्तर जानु स्वाभाविक हो ।

‘आज संसारभर संसारकै नागरिक छन्,’ उनले भनेका छन्, ‘किनकि अवसर छनोटको खुला विश्वमा यो स्वाभाविक हो । तर, अस्वाभाविक र खतरनाक कुरा त युद्ध हो, भूराजनीतिक चपेटा हो ।’ ओलीले प्रत्यक्ष रूपमा कुनै देश वा शक्ति राष्ट्रको नाम उल्लेख नगरे पनि शक्तिको स्वार्थ घुसेपछि देशहरू विवश हुनुपर्ने अवस्था आएको संकेत गरेका छन् ।

‘ती देशहरू पनि पक्कै युद्ध चाहँदैनथे । तर, शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने’ भन्ने उनको भनाइले विश्व राजनीति र शक्तिसन्तुलनप्रति आलोचनात्मक दृष्टिकोण प्रकट गर्छ । नेपाल स्वयं शान्तिपूर्ण परराष्ट्र नीतिमा विश्वास गर्ने मुलुक भएको सन्दर्भ उल्लेख गर्दै ओलीले आफूले मिसाइलको धुवाँ देख्न नपरेकोमा सौभाग्य मानेका छन् ।

‘सौभाग्यबस् हामीले यस भूमिमा मिसाइलको धुवाँ भोग्नु परेको छैन । मेरो प्रार्थना छ—कुनै पनि आवरणमा त्यो आउन नसकोस्,’ उनले लेखेका छन् । उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ ।

समर्थकहरूले उनलाई संवेदनशील र राष्ट्रप्रेमी नेताका रूपमा प्रशंसा गरेका छन् भने कतिपयले सरकारसँग समन्वय गरेर ठोस पहलका लागि दबाब दिनुपर्ने सुझाव दिएका छन् । कतिपयले भने जेनजी आन्दोलनमा मान्छे मारिँदा निद्रा लागेको थियो कि थिएन ? भनेर प्रश्न उठाएका छन् ।

मध्यपूर्वी क्षेत्र विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र सामरिक महत्वका कारण सधैं संवेदनशील मानिन्छ । त्यहाँ उत्पन्न हुने सानो तनावले पनि विश्व बजार, तेलको मूल्य र वैदेशिक रोजगारीमा असर पार्ने गर्छ । नेपालजस्तो श्रम निर्यातमा निर्भर देशका लागि त्यहाँको स्थिरता अत्यन्त महत्वपूर्ण मानिन्छ ।

युद्धको जोखिम बढ्दै जाँदा परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयले पनि त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित जानकारी संकलन गरिरहेको जनाएको छ । दूतावासहरूलाई उच्च सतर्कतामा राखिएको र आवश्यक परे आपतकालीन उद्धार योजना अघि बढाइने सरकारी स्रोतको भनाइ छ ।

ओलीले आफ्नो सन्देशको अन्त्यमा धैर्य, विवेक र साहसको आवश्यकता औंल्याएका छन् । ‘आज तपाईंहरूलाई पलपल छट्पटी भइरहँदा म निदाउन सकिनँ । बेचैन छु,’ उनले उल्लेख गरेका छन्, ‘यसबेला हाम्रो सजगता चाहिन्छ । धैर्य चाहिन्छ । विवेक, धैर्य र साहसको कामना गर्छु ।’

उनको यो भावनात्मक सन्देश राजनीतिक अभिव्यक्ति मात्र नभई विदेशमा रहेका नेपाली श्रमिक र तिनका परिवारप्रतिको चिन्ताको अभिव्यक्ति भएको विश्लेषकहरू बताउँछन् । नेपालले विगतमा पनि विभिन्न देशमा द्वन्द्व चुलिँदा आफ्ना नागरिकको उद्धार गरेको थियो । तर, प्रत्येक नयाँ संकटसँगै चुनौतीहरू फरकफरक स्वरूपमा देखा पर्छन् ।

यस्तो अवस्थामा राजनीतिक दलहरूबीच सहकार्य, सरकारको कूटनीतिक सक्रियता र दूतावासहरूको प्रभावकारी समन्वय अत्यावश्यक रहने विश्लेषकहरुको भनाइ छ । मध्यपूर्वको आकाशमा उठेको धुवाँले हजारौं किलोमिटर टाढा बसेका नेपालीका मनमा पनि अशान्ति ल्याएको छ । रोजगारीको खोजीमा परदेशिएका छोराछोरी, श्रीमान्–श्रीमती र आफन्तको सुरक्षाका लागि यहाँका परिवारले दिनरात प्रार्थना गरिरहेका छन् ।

युद्धको गर्जनबीच शान्तिको कामना गर्दै व्यक्त गरिएको ओलीको सन्देशले कम्तीमा एउटा साझा भावना प्रकट गरेको छ, ‘नेपालले शान्ति चाहन्छ, स्थिरता चाहन्छ र आफ्ना नागरिक सुरक्षित रहून् भन्ने आकांक्षा राख्छ ।’ विश्व राजनीति जहाँसुकै मोडिँदै गए पनि नेपालीहरूको साझा चाहना आकाशमा मिसाइलको धुवाँ होइन, सुरक्षित भविष्यको उज्यालो देख्न पाइयोस् भन्ने छ ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.