
विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनमा मतपेटिका सुरक्षाका लागि सुरक्षा निकायले आवश्यकता परे गोली समेत चलाउन सक्ने मोरङका सुरक्षा प्रमुखहरूले बताएका छन्।
नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको ‘निर्वाचन र आम सञ्चार’ विषयक अन्तर्क्रियामा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र प्रहरी उपरीक्षक कवित कटवालले यस्तो चेतावनी दिएका हुन्।
प्रजिअ कट्टेलले निर्वाचन बिथोल्ने वा मतदान प्रक्रियामा अवरोध गर्ने जोसुकै विरुद्ध सुरक्षा प्रोटोकलअनुसार कडा कारबाही गरिने स्पष्ट पारे। ‘अवाञ्छित गतिविधि भएमा ब्यालेट जोगाउन बुलेट प्रयोग गर्न हामी पछि पर्दैनौँ,’ उनले भने।
सुरक्षाकर्मीले आफ्नो ज्यान जोखिममा राखेर भए पनि मतपेटिकाको सुरक्षा गर्ने उनको भनाइ थियो। मोरङ प्रहरी प्रमुख कटवालले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा आइसकेको र निर्वाचन बिथोल्न खोज्ने केही व्यक्तिलाई पक्राउ गरी निगरानी बढाइएको जानकारी दिए।
मोरङका ३०६ मतदान स्थलमध्ये ४७ वटालाई ‘अति संवेदनशील’ र १२५ वटालाई ‘संवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। मतदान स्थलमा खटिएका सुरक्षाकर्मीलाई परिस्थिति हेरी अधिकतम बल प्रयोग गर्ने आदेश दिइएको र ‘रिजर्भ फोर्स’ समेत तयारी अवस्थामा राखिएको उनले बताए।

























