
इनरुवा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाएको आरोपमा सुनसरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। इनरुवा नगरपालिका–३ महेन्द्रचोक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
ठाकुरले ‘रामचन्द्र ठाकुर’ नामक फेसबुक आईडी प्रयोग गरी निर्वाचनका विषयमा झुट्टा अफवाह र भिडियोहरू शेयर गरेको आरोप लागेको छ। नेपाल प्रहरीको साइबर ब्यूरो काठमाडौँको प्राविधिक सहयोगमा उनलाई अफवाह फैलाउन प्रयोग गरिएको मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेवेले बताए।
पक्राउ परेका ठाकुरमाथि जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान अगाडि बढाएको छ। निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालको दुरुपयोग गरी संवेदनशील विषयमा भ्रम नफैलाउन र सचेत रहन एसपी थेवेले सर्वसाधारणमा आग्रह समेत गरेका छन्।

























