
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी कानुनी प्रक्रिया पुऱ्याएर खारेज गरिएको हो।
साह बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी कालोसूचीमा रहेको प्रमाण भेटिएपछि आयोगले यस्तो निर्णय लिएको हो। निर्वाचन कानुनअनुसार बैंकको कालोसूचीमा रहेका व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था छ। उम्मेदवारी दर्ताका क्रममा सो विवरण नखुले पनि दाबी विरोध र छानबिनका क्रममा उनी कालोसूचीमा रहेको तथ्य पुष्टि भएको हो।
धनुषा–१ मा अब रास्वपाको उम्मेदवार मैदानमा रहने छैनन्। यस क्षेत्रमा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेकपा (माओवादी केन्द्र) बाट मातृका प्रसाद यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचनको अन्तिम घडीमा उम्मेदवारी खारेज भएपछि रास्वपाका समर्थकहरू अन्योलमा परेका छन्।

























