कोशी प्रदेशमा निर्वाचनको तयारी पूरा

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २०, बुधबार १०:५९

विराटनगर । कोशी प्रदेशमा बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएके छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार अधिकांश मतदान केन्द्र निर्माण र आवश्यक व्यवस्थापनको कार्य पूरा भइसकेको छ । बाँकी केन्द्रमा अन्तिम चरणको तयारी जारी छ । उनले भने, ‘बाँकी रहेका व्यवस्थापनका सामान्य कार्य दिनभरिमा सकिने छ । बिहीबार बिहानदेखि समयमै मतदान प्रक्रिया सुरु हुनेछ ।’

निर्वाचनको लागि आवश्यक मतपेटिका, मतपत्र, कर्मचारी तथा सुरक्षाकर्मी परिचालन र मतदान केन्द्रमा आवश्यक सामग्री ढुवानीको कार्य पनि सकिएको निर्वाचन कार्यालयले जनाएको छ । सबै मतदाताले सुरक्षित र व्यवस्थित वातावरणमा मतदान गर्न पाउने वातावरण बनेको दंगालले बताए ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने उद्देश्यले सुरक्षा निकायले विशेष रणनीति अपनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार १ हजार ९ सय सात मतदानस्थलमध्ये ४ सय ३९ मतदान स्थल ‘अतिसंवेदनशील’ सूचीमा छन् । ८२१ मतदान स्थल ‘संवेदनशील’ र ६४७ मतदान स्थल ‘सामान्यको’ सूचीमा छन् ।

सुरक्षा सुदृढ गर्न नेपाली सेनाले पनि सक्रिय भूमिका खेलिरहेको छ । कोशी प्रदेशका सबै जिल्लाका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको छ । सेनाले सम्भावित विस्फोटक पदार्थ, शंकास्पद वस्तु तथा गतिविधि नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।

मतदानको अघिल्लो दिनदेखि बुधबारदेखि नै संयुक्त सुरक्षा गस्ती, चेकजाँच र निगरानी बढाइएको छ । निर्वाचन कार्यालयको अनुसार कोशीमा ३५ लाख ७४ हजार ३ सय १० मतदातामध्ये १७ लाख ४६ हजार ७३ महिला, १८ लाख २८ हजार २ सय १३ पुरुष र २४ जना अन्य छन् ।

विशेष परिस्थितिका मतदातालाई लक्षित गर्दै २४ स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । यसमा कारागार, वृद्धाश्रम तथा विशेष सुरक्षा व्यवस्थाभित्र रहेका मतदातालाई मतदानको अवसर सुनिश्चित गरिएको छ ।

केही स्थानमा आचारसंहिता उल्लंघनका घटना देखिएका छन् । प्रमुख दंगालका अनुसार सम्बन्धित निकायमार्फत आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ । मौन अवधिमा प्रचारप्रसार, सामाजिक सञ्जाल गतिविधि तथा समूहगत प्रदर्शनमाथि निगरानी बढाइएको छ ।

निर्वाचनलाई लोकतन्त्रको उत्सवको रूपमा लिएर निर्धक्क र उत्साहपूर्वक मतदान गर्न सबै मतदातालाई उनको अपिल छ । मतदाताको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ ।

यसरी कोशी प्रदेशमा प्रशासन, सुरक्षा र मतदाता व्यवस्थापनसँग सम्बन्धित सबै तयारी पूरा भइसकेको दंगालले बताए । ‘कोशीका मतदाता अब उत्साहित र सुरक्षित वातावरणमा मतदानका लागि तयार छन्,’ उनले भने ।

१४ वटा जिल्ला रहेको कोशीमा २८ वटा निर्वाचन क्षेत्र छन् । ४ सय ९५ उम्मेदवार चुनावी मैदानमा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.