
काठमाडौं। सरकारले २०८३ सालमा प्रदान गरिने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी वर्षका लागि बिदाको तालिका सार्वजनिक गरेको हो।
गत फागुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले विक्रम संवत २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार राजपत्रमा बिदाको विस्तृत विवरण आएको छ।
आगामी २०८३ सालमा दसैँको अवसरमा लगातार ८ दिन सार्वजनिक बिदा हुने भएको छ। असोज ३१ गते फूलपातीका दिन शनिबार परेको छ र सो दिनदेखि कात्तिक ६ गते शुक्रबारसम्म बिदा तोकिएको छ। कात्तिक ७ गते पुनः शनिबार परेकाले दसैँ बिदा लगातार ८ दिन पुगेको हो।
त्यस्तै, तिहारमा पनि लगातार ६ दिन बिदा हुनेछ। तिहार बिदा कात्तिक २२ गते आइतबारदेखि कात्तिक २६ गते बिहीबारसम्म तोकिएको छ। कात्तिक २१ गते शनिबारको बिदा समेत जोड्दा तिहारमा लगातार ६ दिन बिदा हुने देखिएको छ। तिहारपछि कात्तिक २७ गते शुक्रबार कार्यालय खुल्नेछ भने कात्तिक २८ गते शनिबार र कात्तिक २९ गते छठ पर्वको सार्वजनिक बिदा परेको छ।

























