
विराटनगर। भोलि बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ जिल्लाका सबै मतदान स्थलहरूमा तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङका अनुसार जिल्लाका सबै मतदान केन्द्रहरूमा आवश्यक सामग्री र जनशक्ति पुगिसकेका छन्।
भोलि बिहानैदेखि मतदान सुरु हुने र मतदान सकिए लगत्तै सबै क्षेत्रका मतपेटिकाहरू सम्बन्धित मतगणना स्थलमा ल्याउने तयारी गरिएको छ। भौगोलिक विकटताका कारण क्षेत्र नम्बर १ का मिक्लाजुङ गाउँपालिका–१ र केराबारी–२ को पहाडी क्षेत्रबाट मतपेटिका ल्याउन करिब ४ घण्टा लाग्ने अनुमान गरिएको छ। अन्य क्षेत्रबाट भने मतदान सकिएको केही समयभित्रै मतपेटिका आइपुग्ने मुख्य निर्वाचन अधिकृत गुरुङले जानकारी दिए।
मोरङका ६ वटा निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै स्थानमा मतगणनाको व्यवस्था मिलाइएको छ। क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिका कार्यालय, क्षेत्र नम्बर २ को विश्वनाथ मन्दिर (सिजुवा), क्षेत्र नम्बर ३ को भगवती माध्यमिक विद्यालय (बेलबारी), क्षेत्र नम्बर ४ को जनता नमुना माध्यमिक विद्यालय (विराटनगर), क्षेत्र नम्बर ५ को सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय र क्षेत्र नम्बर ६ को आदर्श माध्यमिक विद्यालयमा मतगणना हुनेछ।
मतगणना स्थलहरूमा सुरक्षाका लागि तारजाली र सीसी क्यामेरा जडान गरिएको छ। मतपेटिका संकलन भए लगत्तै सर्वदलीय बैठक बोलाएर गणना सुरु गरिने र २४ घण्टाभित्रै अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा सतर्कता उच्च पारिएको बताएका छन्।

























