
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको आज (बिहीबार) हुने मतदानलाई मौसमले कुनै बाधा नपुर्याउने संकेत देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव कायम रहेको छ भने पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा न्यून चापीय प्रणालीको सामान्य प्रभाव देखिएको छ । यद्यपि, यी दुवै प्रणालीका कारण व्यापक वर्षा वा खराब मौसमको अवस्था नरहने स्पष्ट पारिएको छ ।
महाशाखाका अनुसार बिहीबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने सम्भावना छ । तर, ती क्षेत्रमा समेत वर्षाको सम्भावना न्यून रहेको जनाइएको छ ।
बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ । जसले मतदान केन्द्रसम्म पुग्न मतदातालाई सहज हुने अपेक्षा गरिएको छ ।
तराईका केही स्थानमा बिहानपख हल्का हुस्सु लाग्न सक्ने भए पनि दिउँसो घाम लागेर मौसम खुल्नेछ । बिहानै मतदान केन्द्रतर्फ जाने मतदाताले पनि मौसमको अवरोध झेल्नुपर्ने छैन ।
समग्रमा हेर्दा निर्वाचनको दिन मौसम अनुकूल रहने भएकाले मतदान प्रक्रियामा कुनै अवरोध नआउने महाशाखाले जनाएको छ ।

























