
दमक । झापाको निर्वाचन क्षेत्र नम्बर ५ लाई चुनावी सुरक्षाको ‘इपिसेन्टर’ बनाइएको छ । उक्त निर्वाचन क्षेत्र देशकै सबैभन्दा संवेदनशीलमा पर्छ ।
मतदानका दिन बिहीबार बिहानैबाट उच्च सतर्कता अपनाइएको छ । मुख्य प्रतिस्पर्धा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीच हुने अपेक्षा गरिएको छ ।
झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार झापा–५ लाई अति संवेदनशील मान्दै सुरक्षा रणनीति तय गरिएको छ । उक्त निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न गराउन एसएसपी, एसीपी लगायतका उच्च सुरक्षा अधिकारीहरू खटिएका छन् ।
निर्वाचनलाई असर गर्ने गतिविधि नियन्त्रणमा लिनका लागि सबै उपाय अवलम्बन गरिने एसपी खड्काले बताइन् । उक्त क्षेत्रमा ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
दमकमा नेपाली सेनाको आफ्नै हेलिप्याड निर्माण गरी हवाई गस्ती सुरु गरिएको छ । जमिनमा बख्तरबन्द गाडी र विशेष फौज परिचालन गरिएको छ । बम डिस्पोजल टोली ‘हाई अलर्ट’मा राखिएको छ ।
सुरक्षाकर्मी उपस्थिति बाक्लो बनाइँदा झापा–५ चुनावी सुरक्षाको ‘इपिसेन्टर’ बनेको हो । विद्यार्थीहरूलाई ‘माइन रिस्क एजुकेशन’ कक्षामार्फत शंकास्पद वस्तु भेटिएमा सुरक्षित रहने र सुरक्षा निकायलाई खबर गर्ने तरिका सिकाइएको छ ।
झापा–५ मा रहेका १ लाख ६३ हजार ३ सय ७९ मतदातामध्ये पुरुष ८१ हजार ८१, महिला ८२ हजार २ सय ९६ र अन्य २ जना छन् । मतदानका लागि ६१ वटा मतदानस्थल र १८५ मतदान केन्द्र तोकिएको छ । सबै केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भइसकेको छ ।
मतगणना दमकस्थित अग्र्यानिक कृषि भवनमा हुनेछ । मतपेटिका ढुवानी र गणना प्रक्रियामा सेनाको प्रत्यक्ष निगरानी रहनेछ । गणना स्थलमा कर्मचारीहरूले मतगणना गर्नेछन् । उम्मेदवारका प्रतिनिधि हेर्न मात्रै पाउनेछन् ।
दमक, गौरादह, तोपगाछी, गौरीगञ्जलगायतका क्षेत्रलाई केन्द्रित गरेर सुरक्षा व्यवस्था चुस्त पारिएको छ । झापा–५ यसरी देशको निर्वाचन ‘इपिसेन्टर’ बनेको छ । राजनीतिक प्रतिष्ठा र ऐतिहासिक एवं राजनीतिक कारणले सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिइएको प्रहरीले जनाएको छ ।

























