
सर्लाही । सर्लाही– ४ मा मतदान सुरु हुनासाथै तनावपूर्ण अवस्था सिर्जना भएको छ । बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै मतदाताबीच विवादपछि हुलदंगा भएको हो ।
स्रोतका अनुसार मतदानका क्रममा मतदाताबीच विवाद उत्पन्न भएपछि केही समयका लागि मतदान स्थगित गर्नु परेको थियो । उक्त हुलदंगामा सहभागी व्यक्तिहरूले मतदान प्रक्रियामा असन्तोष देखाएका थिए । प्रहरी र स्थानीय प्रशासनको हस्तक्षेपपछि स्थिति नियन्त्रणमा आएको छ ।
सुरक्षा संयमताका कारण विवाद रोकिएर मतदान पुनः सुचारु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबै मतदाताले शान्तिपूर्वक मतदान गर्न सक्ने अवस्था बनेको छ ।
मतदान पुनः सुरु भए पनि केही मतदाताहरूले भने तनावका कारण मतदान केन्द्र छोडेका थिए । निर्वाचन अधिकारीहरुले मतदाताहरूलाई धैर्यतापूर्वक मतदान गर्न आग्रह गरेका छन् ।

























