
दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह (बालेन्द्र) झापामा हेलिकोप्टर ल्याण्ड हुन नसक्ने भन्दै काठमाडौं नै फर्किएका छन् ।
काठमाडौंबाट मतदान गरिसकेपछि उनी एभरेष्ट एयरको हेलिकोप्टरमार्फत झापास्थित आफ्नो निर्वाचन क्षेत्रका लागि उडेका थिए । उनी झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । बालेनसँग पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका उम्मेदवार प्रतिस्पर्धामा छन् ।
सुरक्षा स्रोतका अनुसार एभरेष्ट एयरको हेलिकोप्टरमार्फत बालेन बिहीबार बिहान ९ः१५ बजेतिर झापाका लागि काठमाडौंबाट उडेका थिए । प्रहरी अधिकारीहरु मौसमका कारण हेलिकोप्टर ल्याण्ड हुन सक्ने अवस्था नभएका कारण बीचबाटै काडमाडौं फिर्ता भएको जानकारी आएको बताउँछन् ।
तर, मौसमविद्हरु मौसम प्रतिकूल नरहेको बताउँछन् । ‘मौसम पूर्णरूपले सफा छ । हेलिकोप्टर बस्न नसक्ने अवस्था हैन,’ एक जना मौसमविद् भने । मौसमलाई कारण देखाइए पनि बालेन काठमाडौं फर्किनुको कारण अरु नै हुनसक्ने अनुमान गरिएको छ ।
‘मौसम र प्राविधिक कारणले समस्या भयो भनिएको छ । अरु कुरा थाहा भएन । यो विषय निक्कै अर्थपूर्ण छ,’ प्रहरी स्रातले भन्यो । हेलिकोप्टर चार्टर उडानमार्फत झापाका लागि उडेपछि बालेनको चौतर्फी विरोध भएको थियो ।
‘त्यही हेलिकोप्टर अरु नेताहरुले चढेको भए के भन्थे होलान् ?’ भनेर प्रश्नसमेत उठेका थिए । निर्वाचन क्षेत्रमा पुग्ने नाममा हेलिकोप्टर चार्टर गरेपछि उनको आलोचना भएको थियो । तर, उनी निर्वाचन क्षेत्र नपुगिकन बीचबाटै फर्किए ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार बिहीबार काठमाडौंबाट झापाका लागि कुनै पनि नियमित हवाई उडान थिएन । सोही कारण चार्टर उडानमार्फत बालेनले आफ्नो यात्रा तय गरेका थिए ।
हेली एभरेष्टका अर्का लगानीकर्ता मिङमा शेर्पा पनि संखुवासभामा रास्वपाकै तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । बालेनले काठमाडौं–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रमा मतदान गरेका थिए ।
यसअघि प्रकाशित समाचारमा बालेन झापा आइनपुगेको विषय उल्लेख हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.

























