
विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा हालसम्म समग्रमा ८.६४ प्रतिशत मतदान भएको छ।
मोरङमा ११.३८ प्रतिशत मत खसिसकेको छ। ताप्लेजुङमा १०.८३ प्रतिशत र पाँचथरमा १०.४७ प्रतिशत मतदान भएको छ भने खोटाङमा सबैभन्दा कम ३.४२ प्रतिशत मात्र मत खसेको देखिन्छ। झापामा ८.४४ प्रतिशत, सुनसरीमा ९.१३ प्रतिशत र इलाममा ४.८२ प्रतिशत मतदान भएको छ।
सबै जिल्लाहरूमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको भए तापनि केही स्थानमा भने सामान्य अवरोध र विशेष परिस्थिति सिर्जना भएको छ। उदयपुरको कटारी नगरपालिका वडा नम्बर ३ स्थित तरकारी तथा फलफूल बिक्री केन्द्र, तावाखोला (क) मतदान केन्द्रमा खटिएका प्रहरी जवान निरज महतमानले बोकेको सर्टगन अचानक पड्किँदा प्रत्यक्ष तर्फको मतपेटिकामा क्षति पुगेको छ। यद्यपि त्यहाँ मतदान कार्य रोकिएको छैन र हाल सुचारु रहेको जानकारी प्राप्त भएको छ।
प्रदेशका १४ वटै जिल्लाका १९०७ मतदानस्थल र ४२७० मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। कुल ३५ लाख ७४ हजार ३१० मतदाता रहेको यस क्षेत्रमा हालसम्म ३ लाख ८ हजार ७०६ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।

























