
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेलाई आफ्नो जीवनको दुई महत्त्वपूर्ण संयोगको दिनका रूपमा स्मरण गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो दिनलाई आफूले कहिल्यै बिर्सन नसक्ने बताए।
ओलीका अनुसार आजको दिन ‘सुखानी शहीद दिवस’ हो भने ६ वर्षअघि आजकै दिन उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। यी दुवै घटनालाई उनले मृत्युको मुखबाट पुनर्जीवन पाएको क्षणका रूपमा व्याख्या गरेका छन्।
झापा आन्दोलनको स्मरण गर्दै उनले निरंकुश व्यवस्था विरुद्ध विद्रोह गर्दा आफूहरू जेल परेको र झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर हत्या गरिएको उल्लेख गरे। सोही समयमा आफू पनि मृत्युको मुखबाट फर्किएको र १४ वर्ष कठोर कारावास बिताएको उनले बताए।
देशमा लोकतन्त्र ल्याउन बलिदान दिने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै ओलीले फागुन २१ गते आफ्नो जीवनको एउटा अमेट स्मृति रहेको बताए।

























