
सर्लाही। नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौंमा आफ्नो मताधिकार प्रयोग गरेलगत्तै सर्लाही पुगेका छन्। सभापति थापा यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका छन्।
सर्लाही पुगेलगत्तै थापा चुनावी क्षेत्रका विभिन्न मतदान केन्द्रहरूको निरीक्षणमा निस्किएको उनको सचिवालयले जनाएको छ। सर्लाही–४ लाई यसपटक निकै चासोका साथ हेरिएको छ, जहाँ थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
यसअघि काठमाडौँमा मतदान गरेर झापा जान लागेका रास्वपा नेता बालेन शाह सुरक्षा चुनौतीका कारण बीच बाटोबाटै फर्कनुपरेको थियो भने कांग्रेस सभापति थापा भने आफ्नो निर्वाचन क्षेत्रमा पुगेर स्थलगत अवलोकनमा सक्रिय भएका छन्। सर्लाहीका मतदान केन्द्रहरूमा अहिले शान्तिपूर्ण रूपमा मतदान जारी रहेको र सुरक्षा व्यवस्था कडा पारिएको छ।

























