
ओखलढुंगा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा आज एक जना स्थानीयले पनि मतदान गरेनन्। स्थानीय बासिन्दाले सामूहिक रूपमा निर्वाचन बहिष्कार गरेपछि सो केन्द्रमा मतदाताको उपस्थिति शून्य रहेको हो।
निर्वाचनका लागि खटिएका ४ जना अस्थायी मतदाता अर्थात् कर्मचारीहरूले मात्रै आफ्नो मताधिकार प्रयोग गरेपछि मतदान प्रक्रिया सकिएको घोषणा गर्दै मतपेटिका सिलबन्दी गरिएको छ। स्थानीयहरूको माग सम्बोधन नभएको भन्दै उनीहरूले मतदानमा सहभागी नहुने निर्णय गरेका हुन्।
विवादको मुख्य जड वडा नम्बर ७ हर्कपुरमा प्रदेशस्तरीय अस्पताल निर्माणका लागि दान गरिएको जग्गासँग जोडिएको छ। स्थानीयले अस्पताल निर्माणका लागि जग्गादान गरेका थिए, तर लामो समयसम्म पनि अस्पताल नबनेपछि उनीहरू आन्दोलित भएका हुन्। कि त अस्पताल निर्माण हुनुपर्ने, कि आफ्नो जग्गा फिर्ता पाउनुपर्ने अडान राख्दै उनीहरूले चुनाव बहिष्कार गरेका हुन्।
निर्वाचन आयोग र स्थानीय प्रशासनले सहजीकरणको प्रयास गरे पनि स्थानीयहरू आफ्नो अडानबाट पछि हटेनन्। यस घटनाले निर्वाचनमा स्थानीय विकासका मुद्दा र जग्गादाताहरूको असन्तुष्टिलाई प्रस्ट रूपमा सतहमा ल्याएको छ।

























