
काठमाडौं। बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा आचारसंहिता विपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यकासहित सातै प्रदेशबाट निर्वाचन सुरक्षामा खलल पुर्याउन खोज्नेहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा बागमती प्रदेशबाट सबैभन्दा बढी ७ जना रहेका छन्। यस्तै मधेश र सुदूरपश्चिमबाट ४–४ जना, कोशी र गण्डकीबाट ३–३ जना तथा उपत्यका, लुम्बिनी र कर्णाली प्रदेशबाट १–१ जना रहेका छन्। निर्वाचनलाई भयरहित बनाउन र सुरक्षा चुनौतीको सामना गर्न प्रहरीले मतदानका दिन कडा निगरानी बढाएको थियो।
सुरक्षा व्यवस्थालाई थप कडा बनाउने क्रममा प्रहरीले अनुमति बिना चलाइएका २ हजार ५ सय ९७ वटा सवारी साधनहरूलाई पनि होल्ड गरेको छ। जसमा २ हजार ३ सय ५१ वटा दुई पाङ्ग्रे र २४६ वटा चार पाङ्ग्रे सवारी साधन रहेका छन्। लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ८ सय ८७ र काठमाडौँ उपत्यकामा ८ सय ३० वटा सवारी साधन नियन्त्रणमा लिइएका छन्।
यसैगरी, उपत्यकाका दुई स्थानसहित देशभरका १५ ठाउँमा शंकास्पद वस्तुहरू फेला परेका थिए। ती वस्तुहरूलाई नेपाल प्रहरीले नेपाली सेनासँगको समन्वयमा सुरक्षित रूपमा निष्क्रिय पारेको छ। देशभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि सुरक्षा निकायले मतगणना स्थलहरूमा उच्च सतर्कता अपनाएको जनाएको छ।

























