
ओखलढुंगा। ओखलढुंगा जिल्लाको प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु गर्न आज बिहान १० बजे सर्वदलीय बैठक बोलाइएको छ। जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेकाले गणनाको तयारी थालिएको हो।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले दिएको जानकारी अनुसार १० बजेको बैठकमा दलहरूबीच सहमति भएलगत्तै मतगणना प्रक्रिया अघि बढ्नेछ। ओखलढुंगामा यसपटकको प्रतिस्पर्धा निकै रोचक मानिएको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पूर्व एआईजी विश्वराज पोखरेल, नेपाली कांग्रेसबाट कुमार लुइँटेल, नेकपा एमालेबाट अस्मिता थापा र नेपाली कम्युनिस्ट पार्टीबाट अम्बिरबाबु गुरुङ मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन्।
जिल्लाभरका मतदाताहरू आफ्नो क्षेत्रको प्रारम्भिक नतिजा सुन्न आतुर देखिएका छन्। सर्वदलीय बैठक सकिएपछि केही घण्टामै पहिलो चरणको नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

























