
इलाम । इलामका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरूले आफ्नो अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार इलाम–१ मा काजीमान कागते र इलाम–२ मा सुहाङ नेम्वाङ अगाडि देखिएका हुन्।
इलाम–१ मा एमालेका कागते २ हजार ८०३ मतका साथ पहिलो स्थानमा छन्। उनलाई नेपाली कांग्रेसका निस्कल राईले २ हजार ५८९ मतसहित पछ्याइरहेका छन्। गणनाको सुरुवाति चरणमा अग्रता लिएका श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बू अहिले २ हजार ५४६ मतका साथ तेस्रो स्थानमा झरेका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल गदाल १ हजार २४४ मतसहित चौथो र नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राई ९६९ मतसहित पाँचौँ स्थानमा रहेका छन्।
उता इलाम–२ मा पनि एमालेका सुहाङ नेम्वाङले आफ्नो अग्रतालाई सुरक्षित राखेका छन्। जिल्लाका दुवै क्षेत्रमा एमाले र अन्य दलहरूबीच कडा प्रतिस्पर्धा भइरहेकाले अन्तिम नतिजा कता जान्छ भन्ने कौतुहलता बढेको छ।
























