ध्रुवराज राई र शेरधन राई ।भोजपुर। भोजपुर जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई निर्वाचित भएका छन् । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पार्टी सचिव शेरधन राईलाई पराजित गर्दै ध्रुवराजले ऐतिहासिक जित दर्ता गरेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार ध्रुवराज राईले १६ हजार ६६३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले सचिव शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरे ।
शेरधन र ध्रुवराजबीच १ हजार ९१३ को मतान्तर रहेको छ । पूर्व मुख्यमन्त्री समेत रहेका शेरधनको यो पराजयलाई भोजपुरको राजनीतिमा ठूलो हेरफेरको रूपमा हेरिएको छ ।
निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण थापा ८ हजार ६७० मतसहित तेस्रो स्थानमा रहे । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश ओझाले ६ हजार १०२ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अजम्बर काङमाङले ५ हजार ६२८ मतमा चित्त बुझाए ।
























