
काठमाडौं। । निर्वाचन आयोगले धनुषा क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको आइतबारको निर्णयअनुसार उक्त क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयलाई परिणाम रोक्न पत्राचार गरिएको शाखा अधिकृत (कानून) अरुण अधिकारीले जानकारी दिए ।
आयोगले यसअघि फागुन १८ गते सो क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको प्रमाण प्राप्त भएपछि आयोगले उक्त कदम चालेको हो । आयोगको सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भई हाल विचाराधीन अवस्थामा रहेको छ ।
अदालतबाट अन्तिम आदेश नआएसम्म धनुषा–१ को पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम घोषणा नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको पत्रमा उल्लेख छ । आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पत्र तामेल गराई सोको जानकारी दिन प्रदेश निर्वाचन कार्यालयलाई समेत बोधार्थ पठाएको छ । रास्वपाको लहर चलिरहेका बेला धनुषा–१ मा देखिएको यो कानूनी जटिलताले उक्त क्षेत्रको नतिजालाई अन्योलमा पारेको छ ।
























