झापाको तीन ठाउँमा एकै दिन आगलागी

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १७:२९
प्रतीकात्मक तस्बिर

झापा । झापाका विभिन्न तीन ठाउँमा आइतबार छुट्टाछुट्टै आगलागीका घटना हुँदा करिब साढे छ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । घटनामा कुनै मानवीय वा चौपाय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

गौरीगञ्ज गाउँपालिका–६ भारुचोकमा आइतबार दिउँसो करिब १ः३० बजे स्थानीय तुलसी साहको जस्ता पाताले बनेको र टिनको छाना भएको एक कोठे घुम्ती किराना पसलमा आगलागी भएको छ । विद्युत् सर्ट भएर अचानक आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोली, निर्वाचन सुरक्षामा खटिएका प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगोले किराना पसल तथा पसलभित्र रहेका विभिन्न किराना सामग्री जलेर नष्ट हुँदा करिब दुई लाख चार हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यसैगरी, भद्रपुर नगरपालिका–९ बुद्धटोलमा पनि आइतबार दिउँसो आगलागी भएको छ । स्थानीय मकरध्वज आङदेम्बेको जस्ताको छानो र बाँसको चित्राले बनेको एकतले भान्साघरमा चुलोबाट आगो सल्किएको छ ।

आगलागीबाट भान्साघरमा रहेका ग्यास सिलिण्डर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, एउटा साइकल तथा फर्निचरका सामान जलेर नष्ट भएका छन् । करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

यसैगरी, गौरादह नगरपालिका–७ सूर्योदय टोलमा गाई ग्वालीमा आइतबार बिहानका राति आगलागी भएको छ। स्थानीय पुष्पलाल चौलागाईंको टिनको छाना भएको दुई कोठे ग्वालीमा विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट ग्वाली पूर्ण रूपमा जलेको छ भने भित्र राखिएको करिब पाँच मन धान, ५० किलो चोकर, झ्यालढोका र विद्युत् मिटर बक्स जलेर नष्ट भएको छ । करिब एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.