
जनकपुरधाम। मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले प्रतिनिधि सभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेका छन् । प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर स्वाभिमान पार्टीमार्फत सप्तरी क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका सिंहको जमानत समेत जफत भएको छ ।
निर्वाचन आयोगका अनुसार कुल ६२ हजार ७८३ सदर मत खसेको यस क्षेत्रमा सिंहले जम्मा ३ हजार ५५७ मत (५.६७ प्रतिशत) मात्र प्राप्त गरे । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादव २८ हजार ४०४ मतसहित विजयी भएका छन् ।
३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा विजयी उम्मेदवारबाहेक जनता समाजवादी पार्टीका उमेशकुमार यादव (१४,२६३ मत) र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत (९,८८० मत) ले मात्र आफ्नो जमानत बचाउन सफल भए । बाँकी ३१ जना उम्मेदवारको धरौटी जफत भएको छ ।
मधेश प्रदेशसभाबाट राजीनामा दिएर प्रतिनिधि सभामा भाग्य अजमाउन खोज्ने अन्य नेताहरूको अवस्था पनि सुखद रहेन । महोत्तरी–४ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका भरतप्रसाद साह ५ हजार ३३६ मत (८.९६ प्रतिशत) पाउँदै पाँचौँ स्थानमा सीमित भए र उनको पनि जमानत जफत भयो । यद्यपि, बारा–४ मा रास्वपाबाट उम्मेदवार बनेका रहबर अन्सारी भने निर्वाचित हुन सफल भएका छन् ।
यसैबीच, धनुषा–१ मा नेकपा एमालेका रामचन्द्र मण्डल उम्मेदवार रहे पनि रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेजी र कानूनी विवादका कारण निर्वाचन आयोगले हाललाई सो क्षेत्रको मत परिणाम घोषणा नगर्न निर्देशन दिएको छ । मधेशका प्रभावशाली मानिएका पुराना अनुहारहरूलाई यस निर्वाचनमा मतदाताले नराम्ररी नकार्दै नयाँ शक्तिलाई रोजेको देखिएको छ ।
























