
सुनसरी । सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणनाका क्रममा अनौठो घटना भएको छ ।
मतपत्रसँगै मतपेटिकाभित्र पाँच जना मतदाताको परिचयपत्र फेला परेका छन् । मतदानका क्रममा मतपत्र खसाल्दा झुक्किएर नागरिकता र मतदाता परिचयपत्र पनि मतपेटिकाभित्रै खसाएको हुनसक्ने अनुमान गरिएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछिको मतगणनाका क्रममा मतपेटिकाभित्र मतदाता परिचत्रपत्र र नागरिकता फेला परेको हो । मतदाता परिचयपत्र नहुनेलाई नागरिकताका आधारमा पनि मतदानको व्यवस्था मिलाइएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकाभित्र भेटिएका परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार मतपेटिकाभित्र दुईवटा नागरिकता र तीनवटा मतदाता परिचयपत्र भेटिएका छन् ।
इटहरी उपमहानगरपालिका–२ की सुशीला श्रेष्ठ र इटहरी–६ का इमलाल गौतमको नागरिकता तथा इनरुवा नगरपालिका–१० का मो. जिबराईल अन्सारी, इटहरी–१ का डम्बरबहादुर कार्की तथा इनरुवा–१० की विवि आस्मिन खातुनको मतदाता परिचयपत्र मतपेटिकाभित्र फेला परेको हो । मतदान गर्ने क्रममा मतदाताले मतपत्र मतपेटिकामा खसाल्दा झुक्किएर परिचयपत्र पनि सँगै खसालेको हुनसक्ने निर्वाचन कार्यालयको अनुमान छ ।
मतदान केन्द्रमा मतदाता परिचयपत्र देखाएर मतपत्र लिने प्रक्रिया हुन्छ । त्यसपछि मतपत्रमा मतदान गरी मतपेटिकामा खसाल्नुपर्ने हुन्छ । तर, कतिपय मतदाताले मतपत्रसँगै परिचयपत्र पनि हातमै राखेर मतपेटिकामा खसाल्दा यस्तो भएको हुनसक्ने बताइएको छ ।
मतपेटिकाभित्र भेटिएका परिचयपत्र सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न निर्वाचन कार्यालयले सूचना जारी गरेको छ । परिचयपत्रका धनीलाई सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ को निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको हो ।
यस घटनाले मतदाता शिक्षाको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ । निर्वाचन आयोगले प्रत्येक निर्वाचनअघि मतदाता शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको भए पनि मतदान प्रक्रियाका बारेमा अझै पर्याप्त जानकारी नपुगेको संकेत यस घटनाले दिएको छ । मतदान गर्दा के गर्ने र के नगर्ने भन्ने सामान्य जानकारी नहुँदा यस्ता त्रुटिहरू दोहोरिने सम्भावना रहने जानकारहरू बताउँछन् ।
निर्वाचन प्रक्रियामा मतदाताको सहभागिता बढ्दै गएको भए पनि मतदानसम्बन्धी व्यावहारिक जानकारी सबै तहका मतदातासम्म प्रभावकारी रूपमा पुग्न नसकेको देखिन्छ । विशेषगरी ग्रामीण क्षेत्र तथा पहिलो पटक मतदान गर्ने मतदातामा यस्तो समस्या बढी देखिने गरेको निर्वाचनसँग सम्बन्धित अधिकारीहरू बताउँछन् ।
निर्वाचन कार्यालयमा सुरक्षित रूपमा राखिएको परिचयपत्र सम्बन्धित व्यक्तिले सम्पर्कमा आएपछि आवश्यक पहिचान प्रक्रिया पूरा गरेर फिर्ता गरिने जनाइएको छ । यस घटनाले मतदानजस्तो महत्वपूर्ण लोकतान्त्रिक प्रक्रियामा सहभागी हुँदा मतदाताले प्रक्रिया राम्रोसँग बुझ्नुपर्ने आवश्यकता महसुस गराएको छ । मतपेटिकामा मतपत्र मात्र खसाल्नुपर्ने सामान्य नियमका बारेमा पर्याप्त जानकारी नहुँदा यस्तो अनपेक्षित अवस्था देखिएको निर्वाचन अधिकारीहरूको भनाइ छ ।
























