
काठमाडौं । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन् ।
उनले जारी गरेको शुभकामना सन्देशमा निर्वाचनले नेपाली जनताको लोकतन्त्रप्रतिको प्रतिबद्धता र लोकतान्त्रिक संस्थाको मजबुती देखाएको उल्लेख गरेका छन् । रहमानले नेपालमा सम्पन्न निर्वाचनलाई महत्वपूर्ण लोकतान्त्रिक अभ्यासको रूपमा व्याख्या गर्दै आगामी दिनमा बंगलादेश र नेपालबीचको मित्रता, व्यापार तथा विकास सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।
पछिल्लो निर्वाचनपछि विभिन्न देशका नेताहरूले नेपाललाई बधाई तथा शुभकामना सन्देश पठाइरहेका छन् । बंगलादेशमा पनि गत माघमा भएको निर्वाचनपछि रहमान फागुन ५ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
बंगलादेशमा नेपालमा भदौ २३ र २४ मा भएजस्तै जेनजी (विद्यार्थी) आन्दोलन सन् २०२४ मा भएको थियो । आन्दोलनपछि गत माघ २९ गते आमनिर्वाचनमार्फत बंगलादेशको प्रधानमन्त्री बनेका रहमान बीएनपीका अध्यक्ष हुन् । उक्त निर्वाचनमा बीएनपीले बहुमत ल्याएको थियो ।
























