
काठमाडौं । निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र ‘प्रतिनिधिसभा निर्वाचन’ को अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको अन्तिम नतिजा समेटेर प्रतिवेदन बुझाउन लागिएको हो ।
प्रत्यक्षतर्फको १६५ सिटको नतिजा सार्वजनिक भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिटसहित ऐतिहासिक जित निकालेको छ भने नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राप्रपाले १ र स्वतन्त्रबाट महावीर पुनले १ सिट जितेका छन् ।
आयोगले समानुपातिकतर्फको मतगणना आज साँझसम्म सक्ने लक्ष्य राखेको छ । भोलि फागुन २७ गते दलहरूलाई निर्वाचित हुने सांसदहरूको सूची पठाउन पत्राचार गर्नेछ । कानुनअनुसार दलहरूले नाम पठाउन ३ दिनको समय पाउनेछन् र चैत १ गतेसम्म आयोगमा सूची बुझाउनुपर्नेछ । त्यसपछि आयोगले क्लस्टर र कानुनी प्रक्रिया अध्ययन गरी चैत ५ गतेसम्म समानुपातिक सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने कार्यतालिका बनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै प्रक्रिया पूरा गरी चैतको पहिलो साताभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाइनेछ । प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने बाटो खुल्नेछ ।

























