हर्क साम्पाङको संसदीय यात्रा: सडकको संघर्षदेखि सदनको शक्तिसम्म

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २७, बुधबार १०:०७

वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा एउटा टेम्पो र सामान्य लाउडस्पिकरको भरमा चुनावी मैदानमा होमिएका हर्कराज राई साम्पाङ अहिले राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा आइपुगेका छन्।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नै नेतृत्वको श्रम संस्कृति पार्टीमार्फत उनले संसद्मा बलियो उपस्थिति जनाएका हुन्। ४३ वर्षीय राईको पार्टीले प्रत्यक्षतर्फ ३ सिट जित्दै र समानुपातिकमा ३ लाख ७० हजारभन्दा बढी मत कटाएर राष्ट्रिय दलको मान्यता समेत पाएको छ।

समानुपातिकतर्फ थप ४ सिट सुनिश्चित गरेसँगै अब संसद्मा साम्पाङको नेतृत्वमा ७ सदस्यीय टोली रहने पक्का भएको छ। धरान उपमहानगरपालिकाको मेयरका रूपमा करिब साढे तीन वर्ष बिताउँदा उनी कहिले प्रशंसित त कहिले विवादित बने।

उपमेयर आइन्द्र विक्रम बेघादेखि वडा सदस्य सूर्य भट्टराईसम्मका जनप्रतिनिधिसँगको उनको टकराव चर्चाको विषय बन्यो। यद्यपि, धरानको खानेपानी समस्या समाधानका लागि उनले गरेको निरन्तरको प्रयास र श्रमदानको अभियानले उनलाई जनतामाझ स्थापित गरायो।

राजनीतिक विश्लेषक तथा मुन्धुम अध्येता डा. कमल तिगेलाका अनुसार मेयरका रूपमा साम्पाङले केही देखिने काम गरे पनि धेरै योजना अझै अपूरै छन्।

‘उहाँले धरानका लागि गरेका बाचाहरु पूरा गर्न अग्रसरता त देखाउनुभयो, तर त्यसले पूर्णता पाइसकेको महसुस भएको छैन,’ डा. तिगेलाले भने, ‘अब उहाँ नीति निर्माण गर्ने सर्वोच्च थलोमा पुग्नुभएको छ। अब धरान मात्र नभई समग्र मुलुकको हितका लागि उहाँले समय खर्चिनुपर्नेछ।’

विश्लेषक तिगेलाले अब साम्पाङले सामाजिक सञ्जालको टिकाटिप्पणीमा अल्झिनुभन्दा सदनमा रचनात्मक प्रतिपक्षीको भूमिका खेल्नुपर्ने सुझाव दिए।

‘सरकारमा नगए पनि जनसरोकारका मुद्दामा सरकारलाई खबरदारी गर्नुपर्छ,’ उनले भने, ‘बालेन्द्र साह जस्ता पात्रमाथि प्रहार गरेर राजनीतिक कद बढ्छ भन्ने बुझाइ त्याग गरी सदनमा सरकारको गुण र दोषका आधारमा बोल्नु बुद्धिमानी हुनेछ।’

गत भदौमा भएको जेन–जी आन्दोलनपछि काठमाडौँ पुगेर प्रधानमन्त्रीको दाबी गरेका राईले त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र साहप्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए। तर, कम समयमा जनजातिको ठूलो समर्थन पाएका राईका लागि अब उपमहानगरको कार्यशैलीले मात्र राष्ट्रिय राजनीतिमा टिक्न कठिन हुने विश्लेषण गरिएको छ।

धरानको बसपार्क स्थानान्तरण र ६ लेन सडक निर्माण जस्ता विषयमा उनको भूमिका कमजोर देखिएको टिप्पणी भइरहेका बेला नीति निर्माणमा भने उनले गम्भीर हुनुपर्ने देखिन्छ।

डा. तिगेला थप्छन्, ‘विगतको जस्तो आडम्बरी र दम्भकारी व्यवहार त्याग्नु उहाँकै लागि हितकर हुनेछ। यद्यपि, जनतामा श्रमदानको संस्कृति भित्र्याउन र सरकारी सवारी त्याग गरेर सामान्य जीवनशैली अपनाउनु उहाँको सकारात्मक पक्ष हो।’

ढुंगा बोक्ने र बेल्चा चलाउने साम्पाङको ‘भुइँमान्छे’ छविले नै उनलाई प्रवासमा रहेका नेपालीको समेत ठूलो आर्थिक र नैतिक समर्थन दिलाएको थियो।

यसपटकको निर्वाचनमा श्रम संस्कृति पार्टीले सुनसरी क्षेत्र नम्बर १ सँगै खोटाङ र भोजपुरमा पनि जित हासिल गरेको छ।

७ सिटसहित सदन छिर्न लागेका साम्पाङले संघीयता, सुशासन र भ्रष्टाचारमुक्त समाजका लागि कस्तो भूमिका खेल्ने हुन्, त्यो भने हेर्न बाँकी नै छ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.