
काठमाडौं । इनिसा विक हत्या प्रकरणको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै विभिन्न समूहहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। उत्पीडित जेन्जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल र वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल लगायतका संस्थाहरूले बिहीबार माइतीघर मण्डलामा भेला भएर दबाबमूलक प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले ‘इनिसा विकका हत्यारालाई कारबाही गर’, ‘बालबालिकामाथि हुने हिंसा अन्त्य गर’, र ‘बलात्कारी जन्माउने व्यवस्था ध्वस्त पारौँ’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए। उनीहरूले पितृसत्तात्मक सोचका विरुद्ध नाराबाजी गर्दै महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरे।
आन्दोलनकारीहरूले सबै प्रकारका बलात्कारका घटनाहरूको निष्पक्ष र स्वतन्त्र छानबिनका लागि एक उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत अघि सारेका छन्। सुर्खेतको वीरेन्द्रनगरस्थित एक सामुदायिक वनमा मृत फेला परेकी विकको घटनाले देशभर आक्रोश पैदा गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएको छ। यस घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिहरू पक्राउ परेका छन् र उनीहरूको बयानका आधारमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको बताए।
























