
कास्की । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । जिल्ला कमिटीको बैठकमा सम्बोधन गर्ने क्रममा एक्कासि ढलेका थापालाई हृदयघात भएको बताइएको छ ।
बैठकस्थलमै अचेत भएपछि उनलाई उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । अहिले उनको शव मणिपाल अस्पतालमै राखिएको छ ।
थापा गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका क्रममा चर्चामा रहेका थिए । पार्टीले उनलाई कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरे पनि स्थानीय स्तरमा विरोध भएपछि अन्तिम समयमा उनको टिकट खोसिएको थियो ।
उनको स्थानमा एमालेले रश्मि आचार्यलाई उम्मेदवार बनाएको थियो ।
























