
भद्रपुर । झापाको हल्दीबारी गाउँपालिकामा बिहीबार राति वर्षासहित आएको हावाहुन्डरीका कारण ढलेको रुखले किच्दा घरभित्र सुतिरहेकी किशोरीको मृत्यु भएको छ ।
हल्दीबारी गाउँपालिका–२ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार राति ९ बजेतिर आरती आफ्नै घरमा सुतिरहेको अवस्थामा घरनजिकै रहेको आँपको रुख वर्षा र हावाहुन्डरीका कारण ढलेर घरमाथि खसेको थियो ।
रुखले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले घर किचेको रुख हटाएर उद्धार गरेको थियो । घटनास्थल प्रहरी चौकी हल्दीबारीबाट करिब ३ किलोमिटर पूर्वतर्फ छ । शवलाई पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।
























