कोइरालाको चुनावी खर्च : २२ लाख ३१ हजार

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २९, शुक्रबार ११:५९

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका कोइरालाले निर्वाचन आयोग र प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेश विराटनगरमा आफ्नो खर्च विवरण पेश गरेका हुन् ।

सार्वजनिक विवरणअनुसार कोइरालाले निर्वाचनका क्रममा कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरेका छन्। उम्मेदवारका निर्वाचन प्रतिनिधि विकास थापाले फागुन २८ गते प्रमाणित गरी बुझाएको उक्त विवरणमा सबैभन्दा बढी खर्च प्रचार–प्रसार सामग्री छपाइमा भएको देखिएको छ।

विवरणअनुसार मतदाता नामावली, नमुना मतपत्र, पर्चा, पम्प्लेट, स्थानीय घोषणापत्र, झण्डा र फ्लेक्स छपाइमा १६ लाख ४६ हजार ६०९ रुपैयाँ १९ पैसा खर्च भएको छ। त्यस्तै, इन्धन खर्चमा १ लाख १६ हजार ३१९ रुपैयाँ ५० पैसा र प्रचार–प्रसारका लागि १ लाख १३ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

अन्य खर्चहरूमा खाजा तथा खाना खर्च ९६ हजार ६६० रुपैयाँ, स्टेसनरी खर्च १ लाख ४ हजार ५०० रुपैयाँ, यातायात खर्च ७९ हजार रुपैयाँ र टेन्ट खर्च ४० हजार रुपैयाँ देखाइएको छ। साथै, मसलन्दतर्फ ३५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

निर्वाचन खर्चको कारोबार एनआईसी एसिया बैंक विराटनगरको खातामार्फत गरिएको र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिता बमोजिम विवरण पेश गरिएको कोइरालाको सचिवालयले जनाएको छ।

मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुविना आचार्य विजयी भएकी थिइन्। उनले उनी ५५ हजार ५१३ मत प्राप्त गरिन् भने कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका थिए। यस्तै, नेकपा (एमाले) का विनाेद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका थिए भने श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.